काठमाडौं । धनकुटाको भेडेटारबाट धरानका लागि छुटेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस आइतबार दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा बस अनियन्त्रित भई दुर्घटना हुँदा मानीय क्षति भएको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार मृत्यु हुनेमा महोत्तरी गैदाभेटपुर–८ का धैरिया कुमार यादव, झापा मेचीनगरका नयन थापा मगर र धरान–१३ की सुबेक्षा सुब्बा छन्।
त्यस्तै, बराहक्षेत्र–३ घर भई हाल धरान बस्दै आएका ओमेश राई र जनकपुरका १८ महिने बालक रिषम कुमार मण्डलको पनि घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
दिउँसो करिब साढे ४ बजे भएको उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




