काठमाडौं, असोज ८ । चीनका राष्ट्रपति सी जिनपिङको अमेरिकामा भव्य स्वागत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प ज्वाइन्ट बेस एन्ड्र्युजको रनवेमै पुगेर
राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई विशेष स्वागत गरेका हुन । उनीहरूको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो ।
बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सन् १९६२ पछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले यही एयरबेसमा विदेशी राष्ट्रप्रमुखलाई व्यक्तिगत रूपमा स्वागत गरेका हुन् ।
यसलाई ट्रम्पले सीको भ्रमणलाई दिएको उच्च प्राथमिकताको संकेतका रूपमा हेरिएको छ ।
विमानबाट ओर्लिएपछि ट्रम्प र सीले हात मिलाएका थिए । स्वागतका क्रममा अमेरिकी वायुसेनाका दुई बी–१ बमवर्षक विमानले आकाशमा उडान भरेका थिए ।
त्यस अवसरमा अमेरिकी वायुसेनाको ब्यान्डले अमेरिका र चीन दुवै देशका राष्ट्रगान बजाएको थियो भने दुवै देशका झण्डा फहराइएको थियो । स्वागत समारोहपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका थिए ।



