काठमाडौं, असोज १० । जापानको नागोयामा जारी एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले आयोजक जापानलाई १५० रनको लक्ष्य दिएको छ ।
वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको हो । नेपालका लागि लोकेश बम र सन्दीप जोराले निकै आक्रामक ब्याटिंग गरे । यो जोडीले पाँचौ विकेटका लागि ६५ रनको साझेदारी गर्यो ।
दुवै जना अर्धशतक बनाउँदै नटआउट रहे । लोकेशले २२ बलमा ६ छक्का र १ चौका हान्दै ५२ रन बनाए भने सन्दीपले ३२ बलमा ३ छक्का र ५ चौका हानेर ५७ रन बनाए ।
आशिफ शेखले २१ रन जोडे । कुशल भुर्तेल ४, कुशल मल्ल र गुल्सन झाले समान २ रन बनाए । नेपालको यो दोस्रो खेलमा हो, नेपालले पहिलो खेलमा हिजो अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।



