काठमाडौं, असोज ९ । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वव्यापी विभेद र विकसित देशहरुको शैलीका विषयमा गम्भिर प्रश्न उठाएका छन् । राष्ट्रसंघको ८१ औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै उनले विभेदबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।
’अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद ७२ घण्टाभित्र तोकिएको समयमा विश्वको जुनसुकै ठाउँमा पुग्ने संयन्त्र बनाउने विश्व नेपालका किसानका लागि मल र इन्धन अपूर्तिमा भने कमजोर छ’, बालेनले राष्ट्रसंघ महासभामा भने, ’हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग प्रणाली भएको संसार बनाएका छोँ।’
भुक्तानी गर्नसक्ने देशले आवश्यक वस्तु किन्न पाउनुपर्ने उनले बताए।
यही कारण नेपालले बहुपक्षीयतामा विश्वास गर्ने उनले बताए । ‘यसैले हामी बहुपक्षीयतामा विश्वास गर्छौँ । यसैले हामीलाई यस्तो संयुक्त राष्ट्रसंघ चाहिन्छ, जहाँ सानो र गरिब देशको उपस्थितिको पनि अर्थ होस् र हामी मिलेर ठोस परिणामतर्फ अघि बढ्न सकौँ,’ शाहले भने । उनले विश्वव्यापी असमानता, जलवायु न्याय र बहुपक्षीयताको आवश्यकतामाथि जोड दिए ।
उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने बताए ।
‘जलवायु न्याय भनेको केवल पैसाको विषय होइन । यो वितरणात्मक न्यायको विषय पनि हो– यसको मूल्य कसले चुकाउँछ ? यो प्रक्रियागत न्यायको विषय हो– निर्णय प्रक्रियामा कसको आवाज सुनिन्छ ?’ उनले प्रश्न गरे ।
शाहले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्ठित तथा अतिकम विकसित देश र अझै जन्मिन बाँकी पुस्ताको भविष्यलाई समान महत्व दिनुपर्ने बताए ।
‘हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्ठित र अतिकम विकसित देश तथा अझै जन्मिन बाँकी पुस्ताको भविष्यलाई पनि समान रूपमा महत्व दिइन्छ कि दिइँदैन भन्ने प्रश्न हो,’ उनले भने ।
संयुक्त राष्ट्रसंघमै हुने ‘सगरमाथा टु सी’ कार्यक्रमबाट नेपालले जलवायु न्यायसम्बन्धी विश्वव्यापी छलफललाई नेतृत्व गर्न सहयोग गर्ने पनि शाहले बताए ।
सम्बोधनका क्रममा उनले विश्व अहिले गहिरो अनिश्चितताको अवस्थामा रहेको बताए । नेपालमा नयाँ पुस्ताको आकांक्षा प्रतिबिम्बित गर्ने नयाँ लोकतान्त्रिक जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले भने, ‘हाम्रा युवाहरूले इमानदारीको राजनीति माग गरेका छन् ।’



