काठमाडौं, असोज २१ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर र राणाको घरमा भएको खानतलासी तथा सम्पत्ति छानबिनलाई ‘नियमित काम’ भनेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले पूर्वप्रधानन्यायाधीशको घरमा सम्पत्ति छानबिन तथा खानतलासी गरिएको विषयमा प्रश्न उठाएपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो भएको प्रष्टीकरण दिएका हुन् ।
केही दिनअघि असुरक्षा भएको भन्दै थप सुरक्षा दिएर राखिएका पूर्वप्रधानन्यायाधीशको निवासमा अहिले छापा मारेर के गर्न खोजिएको हो भनी सोधिएको प्रश्नमा सरकारका प्रवक्ता पोखरेलले भने, ‘यसमा सरकारी निकायले आफ्ना नियमित कामहरू गरिरहेको छ । त्यसलाई नियमित कामकै रूपमा हेर्नुपर्छ ।’
यस विषयमा थप विवरण आवश्यक परे सम्बन्धित निकायबाटै जानकारी आउने उल्लेख गर्दै उनले अगाडि थपे, ‘त्यसमा थप केही खुलाउनुपर्ने आवश्यक भए सम्पत्ति शुद्धीकरण (विभाग) अथवा सम्बन्धित मन्त्रालयबाट खुल्छ । अहिलेका लागि यसलाई सरकारी निकायले गरिरहेको नियमित कामकै रूपमा बुझ्नुपर्छ ।’



