काठमाडौं,असोज २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्ने बताएकी छन् ।
बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सार्वजनिक लेखा समितिमा परेको उजुरीका आधारमा तथ्य र कागजात अध्ययन गरिने बताएकी हुन् ।
निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियासम्बन्धी उजुरी सार्वजनिक लेखा समितिमा परेको र बेनामी उजुरीसमेत पर्न सक्ने भएकाले त्यसको अध्ययन गर्नु समितिको जिम्मेवारी भएको उनले बताइन् ।
उपसमितिको काम छानबिन वा कारबाही गर्ने नभई तथ्य र कागजातका आधारमा अध्ययन गरी प्रतिवेदन तथा आवश्यक सिफारिस पेश गर्नु रहेको ओलीले स्पष्ट पारिन् ।
सार्वजनिक खरिद ऐन तथा प्रचलित कानुनअनुसार खरिद प्रक्रिया भए–नभएको अध्ययन गरिने उनले बताइन् ।
‘यस विषयमा व्यक्तिगत धारणा वा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्नेछौँ । फरक मत हुनसक्छ तर समितिको बैठकमा सबैका धारणा सम्मानपूर्वक राखिनेछन् र निर्णय प्रक्रियाबाटै निष्कर्षमा पुगिनेछ,’ उनले भनिन् ।
उजुरी पर्दैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै ओलीले प्रत्येक उजुरीलाई तथ्य, प्रमाण र कानुनी प्रक्रियाका आधारमा अध्ययन गर्नुपर्ने बताइन् ।
‘उजुरी पर्नु नै कसैलाई दोषी ठहर गर्नु होइन । भविष्यमा जोसुकै व्यक्ति वा निकायविरुद्ध उजुरी पर्न सक्छ । त्यसैले प्रत्येक उजुरीलाई तथ्य, प्रमाण र कानुनी प्रक्रियाका आधारमा अध्ययन गर्नुपर्छ,’ उनले भनिन् ।
कागजात तथा तथ्यको अध्ययनपछि देखिएको विषयका आधारमा प्रतिवेदन र आवश्यक सिफारिस पेश गरिने ओलीले बताइन् ।



