काठमाडौं, असोज ११ । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रहरीले रोकेकोमा आपत्ति जनाएको छ । बारे बुझ्न जाँदा प्रहरीले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ ।
आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले एक विज्ञप्ति निकालेर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा अनुगमनका लागि पुग्दा रोक लगाइएकोमा आपत्ति जनाएका हुन् ।
गेटमै बसेर कुर्दा पनि पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न नपाएपछि आयोगको टोली फर्किएको थियो ।
त्यसपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको यस प्रकारको व्यवहारप्रति आयोग खेद प्रकट गर्दछ ।’
आफूहरूको संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
‘अतस् निष्पक्ष छानविन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



