काठमाडौं, असोज ११ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा शनिबार न्युयोर्कस्थित यूएईको संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो।
भेटमा मन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति यूएई सरकार र जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा सहानुभूतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
बाढी प्रभावित समुदायका लागि यूएईले उपलब्ध गराएको महत्वपूर्ण मानवीय सहयोगका लागि पनि परराष्ट्रमन्त्री खनालले धन्यवाद दिएका छन।
साथै, यूएईले हालै बाढी प्रभावितका लागि थप २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ८३ करोड रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा पनि खनालले आभार व्यक्त गरेका छन्।
भेटमा नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
दुई मन्त्रीबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्यलगायत विषयमा विचारविमर्श भएको बताइएको छ।



