२०८३, कात्तिक १ गते

शनिबार, कात्तिक १ गते २०८३

शनिबार, कात्तिक १ गते २०८३

काँग्रेस नेताहरू भन्छन्: नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ

काँग्रेस नेताहरू भन्छन्: नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ

साझा पोष्ट
बिहीबार , असोज २९ २०८३
  • images
    images
    काँग्रेस नेताहरू भन्छन्:  नयाँ नेतृत्वले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्छ

    काठमाडौं,असोज २९ । नेपाली काँग्रेसका नेताहरूले पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पार्टीलाई ढिक्का बनाएर नयाँ सोच, नीति र कार्यशैलीका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।


    images

    पार्टीको १५ औँ महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै नीतिगत तथा सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उनीहरूको भनाइ छ । काँग्रेस केन्द्रीय सदस्य खड्गबहादुर शाहीले काँग्रेसप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । काँग्रेसको नयाँ नेतृत्वले युवा पुस्ताको भावना, राजनीतिक चेतना र पछिल्लो समय युवाहरूले उठाएका प्रश्नलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । पार्टीको विधान, नीति र कार्यदिशामा परिवर्तन गर्दै देश र जनताको आवश्यकताअनुसार शासन सञ्चालन गर्ने सोचका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । साथै, उनले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

    चाडपर्वका बेला हवाई तथा सडक यातायातको भाडा र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण समस्यामा परेको उल्लेख गर्दै उनले सरकारले महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिए । सरकारले जनताका समस्यालाई बेवास्ता गरे कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउने उनको भनाइ छ ।

    उनले भने, ‘नेपाली काँग्रेस एउटा नयाँ ढङ्गले, नयाँ विचार, नयाँ सोचका साथ अगाडि बढ्नका लागि हामीले पार्टीको विधानदेखि लिएर सम्पूर्ण सबै नीतिहरू बदलेका छौँ । नयाँ ढङ्गले जानुपर्छ भन्ने किसिमको हामीले अभिलाषा राखेका छौँ । वास्तवमा देश र जनतालाई सुहाउँदो किसिमको व्यवस्था, देश र जनतालाई सुहाउँदो किसिमको एउटा शासन व्यवस्था सञ्चालन गरेर अगाडि बढ्नुपर्छ ।

    कांग्रेस अहिले सत्तामा छैन । नेपाली काँग्रेस अहिले सत्तामा छैन, प्रतिपक्षको भूमिका निर्वाह गर्ने कुराहरू हाम्रा ढङ्गले छँदै छन् । हामीले अहिले मात्रै होइन, हिजोदेखि नेपाली काँग्रेसले नेपाली जनताका प्रति आवाज उठाउँदै आइरहेको छ । नेपाली जनताको पीरमर्कालाई साँच्चिकै मनन गर्ने पार्टी नेपाली काँग्रेस भएका नाताले अहिले पनि महँगी चरमचुलीमा पुगेको छ, नेपाली जनताको चुलोमा आगो बलेको छैन । नेपाली जनताले दुःख पाइरहेका छन्, कष्ट पाइरहेका छन् ।

    जुन हुटहुटी बोकेर आएको पार्टी अहिले सत्ता सञ्चालन गरिरहेको छ, उसले हिजो सत्तामा जानका निम्ति जुन ढङ्गका नाराहरू दिएको थियो, ती परिणाममुखी भएका छैनन् र उल्टो किसिमले सरकार चलिरहेको छ । नेपाली जनताको चाडपर्वको बेला आएर प्लेन भाडादेखि लिएर गाडी भाडादेखि लिएर हरेक किसिमको महँगी भएको छ । महँगी धेरै भएको छ । त्यसकारण महँगी नियन्त्रण गरेर नेपाली जनतालाई सुख, शान्ति र समृद्धि दिने किसिमको बाटोमा जानुपर्छ । जनताले दुःख पाए, कष्ट पाए, पीर पाए र यो पीरबाट मुक्ति गर्नका निम्ति नयाँ ढङ्गले जानुपर्छ ।’

    कांग्रेस केन्द्रीय सदस्य मिर्शाद अन्सारीले काँग्रेसले युवाहरूको भावना र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताए । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई काँग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ । मधेसका मुस्लिम समुदायलगायत विभिन्न समुदायका समस्या पहिचान गरी तिनको समाधानका लागि आफूले पनि पहल गर्ने उनले बताए । कांग्रेसलाई गाउँगाउँसम्म सशक्त संगठनका रूपमा विस्तार गर्दै पार्टीका विचार र कार्यक्रम जनतामाझ पुर्‍याउने उनले बताए ।

    उनले भने, ‘मधेसमा मुस्लिम समुदायका विभिन्न मुद्दाहरू छन्, ती मुद्दाहरूलाई उठान गरेर कार्यान्वयनतिर लैजाने हाम्रो सोच हुनुपर्छ । युवाहरूको राजनीतिप्रति वितृष्णा बढेको देखिन्छ, यसलाई सम्बोधन गर्नुपर्छ । युवाहरूको मनोभावना र उनीहरूको सोच्ने दृष्टिकोणलाई अङ्गीकार गरेर हामी अगाडि बढ्छौँ ।’

    काँग्रेस नेता लेखनाथ पोखरेलले नयाँ नेतृत्वले सरकारका सकारात्मक काममा रचनात्मक सहयोग गर्ने र गलत कार्यको आलोचना गर्ने गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीले राजनीतिक तथा निर्वाचनसम्बन्धी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र गुट–उपगुटभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने पनि बताए ।

    पाल्पा काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जनसरोकारका मुद्दालाई पार्टीको नीति र कार्यक्रमको केन्द्रमा राख्नुपर्ने बताए । जलवायु परिवर्तनलगायतका विषयलाई प्राथमिकतामा राख्दै जनताका दैनिक समस्या सम्बोधन गर्ने कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ छ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा काँग्रेसलाई लोकप्रिय र ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नयाँ नेतृत्वले प्रभावकारी काम गर्नुपर्नेमा उनले जोड दिए ।

    काँग्रेस नेतृ सरस्वती अर्याल तिवारीले आगामी स्थानीय निर्वाचनअघि पार्टीभित्रका असन्तुष्टि र फरक धारमा रहेका नेताहरूलाई समेटेर काँग्रेसलाई एकताबद्ध बनाउनुपर्ने बताइन् । देशभर एउटै उद्देश्य र साझा सन्देशका साथ पार्टी परिचालन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

    काँग्रेस नेतृ सनम विकले नयाँ र पुरानो पुस्ताबीच सहकार्य गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिइन् । आन्तरिक प्रतिस्पर्धाभन्दा अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न संगठन बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

    कांग्रेसका युवा नेता समुन्द्र पोखरेलले वडा तहदेखि नै युवाहरूलाई नेतृत्वमा आउने अवसर दिनु सकारात्मक भएको बताए । उनले युवा रोजगारी र उनीहरूका सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए ।

    नेपाली काँग्रेसको १५ औँ महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना पार्टी कार्यालयमा भइरहेको छ । अधिकांश पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने केही समावेशी समूहका सहमहामन्त्री र विभिन्न क्लस्टर तथा खुला केन्द्रीय सदस्यको अन्तिम नतिजा आउन बाँकी छ । – न्युज एजेन्सी नेपाल

     
     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार