२०८३, कात्तिक ४ गते

मंगलबार, कात्तिक ४ गते २०८३

मंगलबार, कात्तिक ४ गते २०८३

दशैंमा खसीबजारः किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै

दशैंमा खसीबजारः किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै

साझा पोष्ट
आइतबार, कात्तिक २ २०८३
  • images
    images
    दशैंमा खसीबजारः किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै

    काठमाडौं,कात्तिक १ । यस वर्षको दशैँमा काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ । गत वर्ष दशैँमा प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँमा बिक्री भएको खसीको मासुको मूल्य यस वर्ष बढेर १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म पुगेको छ ।


    images

    दशैँमा मासुको खपत बढेसँगै मूल्य वृद्धि भए पनि खसीबोका बिक्री गर्ने किसानले भने सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन् । उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको अवस्थामा किसानले पनि उचित मूल्य नपाउँदा बजारको मूल्य शृङ्खलामा असन्तुष्टि देखिएको हो ।

    खसी व्यापारीहरूले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढीपहिरोका कारण ग्रामीण क्षेत्रबाट खसीबोका काठमाडौं ल्याउन कठिन हुनु मूल्यवृद्धिको प्रमुख कारण रहेको बताएका छन् । साथै, भारतीय खसीबोका पर्याप्त मात्रामा नभित्रिएकाले पनि बजारमा मूल्य बढेको हुन सक्ने उपभोक्ताको बुझाइ छ ।

    काभ्रेबाट खसीबोका बिक्री गर्न काठमाडौं आएका किसान बैनसिंह मोक्तानले खसी बिक्री गर्न समस्या नभए पनि अपेक्षाअनुसारको मूल्य पाउन नसकेको बताएका छन् ।

    मोक्तानले यस वर्ष २५० वटा खसी बिक्रीका लागि ल्याएकोमा २१० वटा बिक्री गरिसकेका छन् । अब ४० वटा मात्रै बाँकी रहेको र ती पनि छिट्टै बिक्री हुने उनको भनाइ छ ।

    उनका अनुसार खसीको आकार र तौलअनुसार प्रतिकिलो ७०० देखि ९०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । साना खसी एउटा परिवारले किन्ने गरे पनि ठूला खसी दुईदेखि तीन परिवार मिलेर खरिद गर्ने गरेका छन् ।

    ‘मैले यो पाली २५० वटा खसी ल्याएको थिएँ । बिक्री गरिरहेको छु । अब ४० वटा बाँकी छ । २–३ बजेसम्म यो सबै सकिन्छ,’ उनले भने, ‘तर पोहोरको तुलनामा यो वर्ष खसीको मासुको भाउ महँगो नै छ । सबैभन्दा सस्तोको प्रतिकिलो ७५० रुपैयाँमा आउँछ, त्योभन्दा मुनि आउँदैन ।’

    मोक्तानले बाढीका कारण नाका बन्द हुनु र पश्चिम एसियाको द्वन्द्वले पनि मूल्यवृद्धिमा प्रभाव पारेको हुन सक्ने बताए ।

    खसीबोका बिक्री हुने मूल्य र मासु पसलमा उपभोक्ताले तिर्नुपर्ने मूल्यबीच ठूलो अन्तर देखिएको छ । जिउँदो खसी प्रतिकिलो ९०० देखि १ हजार रुपैयाँसम्ममा खरिद गर्नुपरेको र तयारी मासुका लागि प्रतिकिलो १ हजार ८०० देखि २ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको उपभोक्ताहरू बताउँछन् ।

    मासु उपभोक्ता अमृत तिवारीका अनुसार यस वर्ष खसीको मासुको मूल्य बढ्नुमा भारतीय खसीबोका पर्याप्त मात्रामा नआउनु पनि एउटा कारण हुन सक्छ ।

    ‘यो वर्ष खसीको मासु अलिकति महँगो छ । यसपटक भारतीय खसी नभित्रिएको कारणले पनि खसीको मासु महँगिएको हुन सक्छ,’ उनले भने, ‘हामीले जिउँदो खसी प्रतिकिलो ९०० रुपैयाँमा किनिरहेका छौँ । तयारी मासुको लागि २ हजार रुपैयाँसम्म हाल्नुपर्ने अवस्था छ ।’

    दशैँ नेपालको सबैभन्दा बढी मासु खपत हुने पर्व हो । यही समयमा काठमाडौं उपत्यकामा खसीबोकाको माग उच्च हुने भएकाले बजारमा मूल्यसमेत बढ्ने गरेको छ ।

    यस वर्ष दशैँका दुई सातामा काठमाडौं उपत्यकामा मात्रै तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका बिक्री हुने अनुमान गरिएको छ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार