काठमाडौं, कात्तिक ९ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करण आजदेखि सुरु हुदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्। एनपीएल आगामी मंसिर ५ गतेसम्म चल्नेछ
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपरान्ह ५ बजेदेखि सुरु हुनेछ। लुम्बिनी रोहित पौडेल र सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदानमा उत्रनेछ।
एनपीएलको सम्पूर्ण तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। एनपीएलमा विभिन्न शहरका ८ फ्रेन्चाइज टोलीले स्पर्धा गर्नेछन्। एनपीएलमा लुम्बिनी र सुदुरपश्चिमसहित काठमाडौ गोर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले खेल्नेछन्।
एनपीएलमा ८ फ्रेन्चाइज टोलीले लिग चरणका २८ र प्लेअफका ४ गरि कुल ३२ खेल खेल्नेछन्। एनपीएलका लागि अनुबन्ध गरिएका विदेशी खेलाडीहरु नेपाल आउने क्रम जारी छ।
तेस्रो सिजनको उपाधि विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेता टोलीले ८० लाख तथा तेस्रो हुने टोलीले ४० र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्।
एनपीएलको समयमा क्यानले १ सय ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छ।
क्यानले एनपीएलको प्रायोजकबाट मात्र ३० करोड, टिकेटिङबाट ७० करोड, फ्रेन्चाइट टोलीसहित अन्यबाट गरेर १ सय ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने दावी गरेको हो।
एनपीएलको तेस्रो संस्करणलाई आइसीसीले मान्यता दिएको छ। यसले गर्दा अब एनपीएलमा खेलाडीले गरेको प्रर्दशन टी–२० र लिष्ट ए मा जोडिनेछ। साथै यही सिजनबाट डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधिको पनि प्रयोग हुँदैछ।यसले गर्दा एनपीएल थप रोमाञ्चक बनेको छ।



