काठमाडौं,कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले अर्को जित निकालेको छ । आज भएको दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ओभरमा २ विकेट गुमाएर ५० बल बाँकी छँदै भेट्टायो । कप्तान रोहित पौडेलले नट आउट ४७ रनको पालि खेले । यस्तै, निरोशन डिकवेला २७ रनमा नटआउट रहे । बलिङतर्फ पोखराका विपिन खत्रीले एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन जोड्यो । चमिका करुणारत्नेले २५, कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका रुबेन ट्रम्पलमानले तीन तथा तिलक भण्डारीले दुई विकेट लिए भने शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले एक–एक सफलता हात पारे । जितसँगै लुम्बिनी तीन खेलमा दुई जित र १ अनिर्णित खेलसहित ५ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । अर्कोतर्फ जारी प्रतियोगितामा पोखराको तेस्रो हार हो । तीन खेलमा तीनै हार बेहोरेको पोखरा अंकतालिकाको पुछारमा छ ।



