काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काएको आरोप लगाएकी छन्।
बिहीबार सामाजिक सञ्जालमा उनले प्रहरी संगठनको ‘चेन अफ कमान्ड’ भत्काउँदाको परिणाम विगतमा आफूहरूले भोगिसकेको र वर्तमान सरकार अहिले त्यही कार्यमा तल्लिन रहेको टिप्पणी गरेकी छन् ।
‘प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काउँदाको परिणाम विगतमा हामीले भोगिसकेका छौँ,’ महामन्त्री संग्रौलाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘राज्यका निकायहरूमा स्वेच्छाचारिता, अध्यादेश अनि अपारदर्शी निर्णय गर्ने शैलीले यो सरकारबाट थप आशा गर्नु बेकार हुने निष्कर्षमा पुगी सकेकाहरूलाई नै बल पुग्ने निश्चित छ।’
उनले झन्डै दुईतिहाईको सरकारले थिति बसाल्ने अपेक्षा गरेका जनताले फेरि दुःख पाउने दिन आउन लागेको भन्दै सचेत पनि गराएकी छन्।
‘झन्डै दुईतिहाईको सरकारले थिति बसाल्ने अपेक्षा गरेका जनताले फेरि दुःख पाउने दिन नआओस्,’ उनले लेखेकी छन्।



