२०८३, कात्तिक २९ गते

शनिबार, कात्तिक २९ गते २०८३

शनिबार, कात्तिक २९ गते २०८३

कङ्गोमा इबोला सङ्क्रमण नियन्त्रणबाहिर, छ महिनादेखि स्वास्थ्य सङ्कट

कङ्गोमा इबोला सङ्क्रमण नियन्त्रणबाहिर, छ महिनादेखि स्वास्थ्य सङ्कट

साझा पोष्ट
शुक्रबार, कात्तिक २८ २०८३
  • images
    कङ्गोमा इबोला सङ्क्रमण नियन्त्रणबाहिर, छ महिनादेखि स्वास्थ्य सङ्कट
    images

    काठमाडौं, कात्तिक २७ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारी छ महिना बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन। सङ्क्रमण प्रभावित क्षेत्रमा बिरामी पहिचान, उपचार र सम्पर्कमा आएका व्यक्तिको निगरानी कमजोर बनेको भन्दै स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय सहायता संस्थाले चिन्ता व्यक्त गरेका छन्।


    images

    स्वास्थ्य संस्थाभित्रै सङ्क्रमण फैलिने क्रम जारी रहेको र वास्तविक सङ्क्रमितको सङ्ख्या आधिकारिक विवरणभन्दा निकै बढी हुन सक्ने उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) ले बिहीबार सार्वजनिक गरेको अवस्थासम्बन्धी विवरणअनुसार कङ्गोमा महामारीको छ महिनापछि पनि सङ्क्रमण व्यापक रूपमा फैलिरहेको छ। संस्थाले कतिपय क्षेत्रमा सङ्क्रमितको पहिचान हुन नसकेको, स्वास्थ्य संस्थामा पर्याप्त सुरक्षा सामग्री नभएको र महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीले आवश्यक स्रोत तथा सुविधा नपाएको जनाएको छ।

    अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार नोभेम्बर १० सम्म कङ्गोमा ११ हजार ११४ जना सङ्क्रमित पुष्टि भएका छन् भने पाँच हजार ४३३ जनाको मृत्यु भएको छ। युरोपेली रोग रोकथाम तथा नियन्त्रण केन्द्रले नोभेम्बर १२ मा सार्वजनिक गरेको विवरणमा पनि कङ्गोमा सङ्क्रमणको अवस्था गम्भीर रहेको उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नोभेम्बर ११ को विवरणले आठ प्रान्तमा सङ्क्रमण फैलिएको र नयाँ सङ्क्रमण क्षेत्रहरू थपिने क्रम जारी रहेको जनाएको छ।

    आधा सङ्क्रमित पहिचान हुन नसकेको अनुमान

    बेलायतका महामारीविद् निल फर्गुसनले कङ्गोमा वास्तविक सङ्क्रमितमध्ये करिब आधाको मात्रै पहिचान भइरहेको अनुमान गर्नुभएको छ। इम्पेरियल कलेज लन्डनका प्राध्यापकसमेत रहनुभएका फर्गुसनले महामारीको अवस्थाबारे गरिएको विश्लेषणमा परीक्षण र निगरानी प्रणालीको कमजोरीका कारण धेरै सङ्क्रमित अभिलेखबाहिर रहेको बताउनुभएको हो। उहाँको टोलीले कङ्गोमा अहिले पनि दुई हजारदेखि तीन हजारसम्म इबोला सङ्क्रमित बिरामी हुन सक्ने अनुमान गरेको छ। सङ्क्रमणको वास्तविक अवस्था पत्ता लगाउन कठिन भइरहेकाले महामारी अझै एक वर्षसम्म जारी रहन सक्ने र सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीको स्तरसम्म पुग्न सक्ने चेतावनीसमेत दिइएको छ। उक्त महामारीमा २८ हजार ६०० भन्दा बढी मानिस सङ्क्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो।

    एमएसएफका अन्तर्राष्ट्रिय अध्यक्ष जाभिद अब्देलमोनेमले महामारी नियन्त्रणका लागि ठूलो रकम परिचालन भएको भनिए पनि त्यसको प्रभाव प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी र बिरामीसम्म पुग्न नसकेको बताउनुभएको छ। उहाँका अनुसार कतिपय स्थानमा स्वास्थ्यकर्मीलाई समयमै पारिश्रमिक उपलब्ध गराइएको छैन भने आवश्यक तालिम, एम्बुलेन्सका लागि इन्धन, बिरामीको निगरानी गर्ने टोली र सङ्क्रमितको सुरक्षित उपचारका लागि चाहिने सामग्रीको अभाव छ। उहाँले महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी आवश्यक स्रोतसाधनबिना काम गर्न बाध्य भएको उल्लेख गर्दै कङ्गो सरकार र संयुक्त राष्ट्रसङ्घीय निकायहरूलाई परिचालित स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न आग्रह गर्नुभएको छ।

    स्वास्थ्य संस्थामै सङ्क्रमण फैलिने जोखिम

    महामारी नियन्त्रणमा सबैभन्दा ठूलो चुनौतीमध्ये स्वास्थ्य संस्थाभित्रै सङ्क्रमण फैलिनु रहेको छ। एमएसएफका अनुसार उत्तर किभु प्रान्तको बेनी स्वास्थ्य क्षेत्रमा इबोला सङ्क्रमितमध्ये झन्डै तीन चौथाइले स्वास्थ्य संस्थाभित्रै सङ्क्रमण पाएको हुन सक्ने अनुमान छ। पानी, क्लोरिन तथा व्यक्तिगत सुरक्षा सामग्रीजस्ता आधारभूत आवश्यकतासमेत पर्याप्त नहुँदा बिरामी, स्वास्थ्यकर्मी र अन्य सेवाग्राही जोखिममा परेका छन्। इटुरी प्रान्तमा एमएसएफले उपचार गरेका इबोला बिरामीमध्ये नौ प्रतिशत मात्रै यसअघि पहिचान भएका सङ्क्रमितका सम्पर्कमा आएका व्यक्ति रहेको पाइएको छ। यसले सङ्क्रमणको स्रोत पहिचान र सम्पर्कमा आएका व्यक्तिको निगरानी गर्न स्वास्थ्य अधिकारीहरूलाई कठिन भइरहेको देखाउँछ। पछिल्लो एक महिनामा इबोलाका कारण भएका मृत्युको झन्डै दुई तिहाइ उपचार केन्द्रभन्दा बाहिर समुदायमै भएको एमएसएफले जनाएको छ। यसले बिरामी अस्पताल पुग्नुअघि नै अवस्था गम्भीर बन्ने, समयमै पहिचान नहुने र उपचारमा ढिलाइ हुने समस्या देखाउँछ।

    हिंसा र असुरक्षाले महामारी नियन्त्रणमा बाधा

    कङ्गोमा जारी सशस्त्र द्वन्द्व र असुरक्षाले महामारी नियन्त्रणका प्रयासलाई थप कठिन बनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेहब्रेयससले नोभेम्बर ११ मा सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै उत्तर किभुको क्यान्टिन–अलोया क्षेत्रमा भएको आक्रमणमा तीन स्वास्थ्यकर्मीसहित ६६ जना सर्वसाधारण मारिएको जानकारी दिनुभएको थियो। उक्त आक्रमणमा तीनवटा स्वास्थ्य संस्था लुटपाट र आगजनीको सिकार भएका थिए। आक्रमणपछि एक हजारभन्दा बढी सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिको निगरानी टुटेको र पुष्टि भएका तीन जना सङ्क्रमितको अवस्थासमेत अज्ञात रहेको डब्ल्यूएचओले जनाएको छ। यसअघि त्शोपो प्रान्तमा इबोलासम्बन्धी सूचनाको जवाफ दिन खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा एक नर्सको मृत्यु भएको थियो भने अर्का स्वास्थ्यकर्मी घाइते भएका थिए।

    डब्ल्यूएचओका अनुसार स्वास्थ्य संस्थामाथिका आक्रमण, विस्थापन, दुर्गम भूगोल, वर्षायाम र स्वास्थ्यकर्मीलाई पारिश्रमिक दिन भएको ढिलाइले महामारी नियन्त्रणका गतिविधि प्रभावित भएका छन्। स्वास्थ्यकर्मी तथा बिरामीको सुरक्षा सुनिश्चित नहुँदा सङ्क्रमण पहिचान, उपचार र सुरक्षित अन्त्येष्टिसम्मका काममा अवरोध पुगेको छ। डब्ल्यूएचओले कङ्गो सरकार, अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) र अन्य साझेदार संस्थासँग मिलेर निगरानी, प्रयोगशाला परीक्षण, उपचार, स्वास्थ्य संस्थामा सङ्क्रमण रोकथाम, सुरक्षित अन्त्येष्टि र समुदायसँगको संवादलाई बलियो बनाउने काम भइरहेको जनाएको छ। तर आवश्यक सबै बिरामीलाई समयमै पहिचान, अलग राखेर उपचार र उनीहरूको सम्पर्कमा आएका व्यक्तिको निगरानी गर्न सक्ने स्तरमा प्रयास विस्तार हुन नसकेको डब्ल्यूएचओको भनाइ छ।

    खोप र उपचारमा अनुसन्धान, तर चुनौती कायमै

    यसपटकको महामारी बुन्डिबुग्यो (Bundibugyo) प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो। यो भाइरसका लागि हालसम्म स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन। सङ्क्रमित व्यक्तिको रगत, शरीरका तरल पदार्थ, दूषित सतह तथा सामग्रीसँग प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्न सक्छ। सङ्क्रमित व्यक्तिमा लक्षण देखिएपछि मात्रै भाइरस अरूमा सर्ने जोखिम सुरु हुन्छ। यसको लक्षण देखिन दुईदेखि २१ दिनसम्म लाग्न सक्छ। ज्वरो, थकान, मांसपेशी दुख्ने, टाउको दुख्ने र घाँटी दुख्ने प्रारम्भिक लक्षण देखिएपछि रोग गम्भीर बन्दै जाँदा पाचन प्रणालीमा समस्या, अङ्गहरूमा असर र कतिपय अवस्थामा रक्तस्रावसमेत हुन सक्छ। प्रारम्भिक लक्षण मलेरियाजस्ता अन्य रोगसँग मिल्ने भएकाले प्रयोगशाला परीक्षणबिना रोग पहिचान गर्न कठिन हुने डब्ल्यूएचओले जनाएको छ।

    यस भाइरसविरुद्धको खोप विकास गर्न कङ्गोमा अक्टोबर २३ देखि ‘तुमाइनी’ नामक परीक्षण सुरु गरिएको छ। बुन्डिबुग्यो भाइरसविरुद्ध विकास गरिएका खोपका सम्भावित उम्मेदवारलाई पनि परीक्षणमा समावेश गर्ने प्रक्रिया अघि बढेको छ। तर खोपको परीक्षण जारी रहेकाले त्यसलाई तत्काल उपलब्ध उपचार वा महामारी नियन्त्रणको विकल्पका रूपमा लिन नसकिने डब्ल्यूएचओले स्पष्ट पारेको छ।

    डब्ल्यूएचओले सङ्क्रमण नियन्त्रणका लागि समयमै रोग पहिचान, प्रयोगशाला परीक्षण, बिरामीलाई अलग राखेर उपचार, सम्पर्कमा आएका व्यक्तिको निगरानी, स्वास्थ्यकर्मीको सुरक्षा र सुरक्षित अन्त्येष्टिलाई मुख्य उपाय मानेको छ। प्रभावित समुदायको विश्वास र सहभागिताबिना महामारी नियन्त्रण सम्भव नहुने उसको निष्कर्ष छ। कङ्गोमा फैलिएको महामारीले छ महिनामै देशका आठ प्रान्तलाई प्रभावित पारेको छ। केही क्षेत्रमा सङ्क्रमणको गति घटेको सङ्केत देखिए पनि नयाँ क्षेत्रहरूमा सङ्क्रमण फैलिने क्रम जारी छ। त्यसैले केही स्थानमा देखिएको सुधारलाई समग्र महामारी नियन्त्रणमा आएको संकेतका रूपमा लिन नमिल्ने डब्ल्यूएचओको चेतावनी छ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार