Sajha Post
आज वसन्त पञ्चमी, देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ। 

वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। 
वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने छ । 

वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेपनि लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो।

यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।
 
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।
 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update