सोमबार, वैशाख २४ गते २०८१
Logo
सोमबार, वैशाख २४ गते २०८१

नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर

साझा पोष्ट
शुक्रबार, वैशाख १४ २०८१
  • images
    नेपाल र चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर
    images

    काठमाडौं ।  नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोग सम्बन्धी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौता भएको हो ।


    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

    अर्थ मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे ।

    चाइना इन्टरनेशनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।

    सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।
    कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

    उनले चिनियाँ राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्याएको बताए । उनले ती दुवै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी भएकाहरुको कार्यान्वयनमा जोड दिए ।

    चिनियाँ प्रतिनिमिण्डलको नेतृत्व गरेका लियु झाओ हुईले नेपाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैं साथ रहेको बताए । राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एक–एक गर्दै कार्यान्वयन हुँदै जाने उनले बताए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार