Sajha Post
२२ गतेभित्र सांसद चौधरीलाई रिहा नगरे सुदूरपश्चिम प्रदेश सरकार ढाल्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

कैलाली । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुणकुमार चौधरीलाई रिहा नगरे सुदूरपश्चिम प्रदेश सरकार ढाल्ने चेतावनी दिएको छ । चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्तिले विरोध प्रदर्शन गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्तिका नेता सुरेन्द्र चौधरीले २२ गतेसम्म सांसद चौधरी रिहा नभए गठबन्धनबाट उन्मुक्ति बाहिरिने चेतावनी दिए ।

‘२२ गतेभित्रमा उहाँलाई निःशर्त हिरासतमुक्त गरियोस्, त्यसो भएन भने २३ गते हामी सुदूरपश्चिमको सरकार ढाल्छौंँ, हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं,’ उनले भने, ‘सम्पूर्ण प्रदेशमा जहाँ जहाँ हाम्रो समर्थन छ, हामी समर्थन फिर्ता लिन्छौँ।’

लम्कीको विरोध सभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्तिका प्रवक्ता समेत रहेका दामोदर पण्डितले सरकार र तत्कालीन आन्दोनकारी थरुहट थरुवान पक्षबीच २०६६ भाद्र ३ गते समझदारी भएको विषयलाई उठाएर सुनियोजित ढंगले सांसद चौधरीलाई पक्राउ गरिएको आरोप लगाए। 

नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई शुक्रबार जिल्ला अदालत कैलालीमा उपस्थित गराएर कैदी पुर्जी धमाउँदै कारागार चलान गरिएको छ।

machhapuchhre bank

विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर सांसद चौधरीलाई ६ महिना कैद सजाय सुनाइएको थियो। तर उनले कैद सजाय भुक्तान गरेका थिएनन्। नागरिक उन्मुक्ति पार्टीले सुनियोजित ढंगले आफ्ना सांसदलाई फसाइएको आरोप लगाएको छ।

७ सांसदसहित सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा निर्णायक छ। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन सकेका छैनन्। २७ गते मुख्ममन्त्री नियुक्त भएका रावलले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ। 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update