
एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएरातीको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राखेको छ । कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ भने चेन्नइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै छ ।
कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतक बनाएपछि चेन्नाइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बलअगावै चार विकेट गुमाएर पूरा गरेको हो ।
नितिश राणाले ५७ रन बनाए भने रिंकुले ५४ रन बनाए । चेन्नाइका लागि दिपक चाहरले तीन विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेन्नाइका लागि शिभव दुवेले अविजित ४८ रन, डेभोन कनवेले ३० र रविन्द्र जडेजाले २० रन जोडे ।
कोलकाताका सुनिल नारिनले दुई, वरुण चक्रवर्तीले दुई तथा वैभव आरोरा र शार्दुल ठाकुरले समान एकरएक विकेट लिए ।