काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिएका छन् ।
गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुलको शुक्रबार उद्घाटन गर्दै नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई यस्तो चेतावनी दिएका हुन् । नेकपा एकीकृत समाजवादीलाई सानो दल वा कमजोर ठान्ने भुल गरेमा त्यो सह्य नहुने चेतावनी पनि नेपालले दिए ।
‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ,’ अध्यक्ष नेपालले भने, ‘हामी स्वाभिमानी छौँ र आफ्नै मूल्य–मान्यता अनुसार अगाडि बढेका छौँ ।’ उनले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने बताए ।