काठमाडौं । पाथिभरा केबलकार निर्माणको विषयसंग जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको आक्रमणप्रति नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ । बैंकमाथि गरिएको प्रहार गलत भन्दै कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुनलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।
राष्ट्र बैंकका बैंक तथा बित्तिय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेलले सामाजिक सञ्जाल मार्फत् पाथिभरा केबलकार निर्माणको बिषयलाई जोडेर बैंकमाथि गरिएको प्रहार गलत भएको बताएका हुन्।
'पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक – ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुंदा राम्रो।' पौडेलले लेखेका छन् ।
पछिल्लो समय पाथिभरा केवलकार निर्माणको बिषयसंग जोडेर ग्लोबल बैंकका विषयमा नकारात्मक प्रचारबाजी भैरहेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित काफ्लेपाटीदेखी पाथीभरा मन्दिर छेउसम्म निर्माणाधीन केबलकारको विषयमा विवाद उत्पन्न भएको छ। २ दशमलव ७ किमि निर्माणाधीन केबलकार खारेजी अभियान चलाइएको छ । मन्दिरको ऐतिहासिकतासंग जोडेर केही स्थानीयले संघर्ष समिति नै बनाएर विरोध गरिरहेका छन् ।
फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दिएको छ । आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल भएकोले बैंक लक्षित गरी बैंक बिरुद्ध प्रचारबाजी भैरहेको छ । त्यो क्रम नरोकिएपछि राष्ट्र बैंकका बैंक तथा बित्तिय संस्था नियमन विभाग प्रमुख पौडेलले मुख खोलेका हुन् ।


