काठमाडौं,साउन ३० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउने अभियानमा लागेका नेताहरुलाई आवारा र उरण्ठेउलाको संज्ञा दिएका छन् ।
इलामको फिकलमा शनिबार आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई हटाउन लागेकाहरुविरुद्ध निम्नस्तरको टिप्पणी गरेका हुन् ।
‘पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू, अध्यक्ष हटाउने कुरा ख्याल हो, ठट्टा हो जस्तो गर्ने। अध्यक्षलाई हटाउने, पार्टी सदस्य छ कि छैन, उरण्ठेउलाहरू भेला भएका छन्, अध्यक्ष हटाउने!,’ ओलीले भने।
ओलीले आफूविरुद्धको अभियानमा कुनै दम नभएको भन्दै त्यस्ता गतिविधि रोक्न चेतावनी दिए। ‘अध्यक्ष हटाउने, कहिले हटाउने हो, हटाइदेउ न,’ ओलीले थपे, ‘कोही हस्ताक्षर गर्दै हिड्या छन्, अध्यक्ष हटाउने। यसका पछाडि केही दम छैन, केही छैन।’
उनले आफूले नेतृत्व नछाड्ने बताए । उनले थपे, ‘विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइराखेको छ । एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भन्या छ । यो केही हुनेवाला होइन । अब केन्द्रीय कमिटीको बैठक पछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिनेछ । अनुशासनका साथ लगिनेछ ।’
उनले पार्टीमा अराजकता र मनपरितन्त्र नचल्ने चेतावनी दिए । उनले भने, ‘पार्टीको विरोध गरेर हिँड्ने, सामाजिक सञ्जालमा जेपायो त्यही लेख्ने कुरा हुँदैन । पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ । अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के के छ, त्यही गरे हुन्छ । चुप लागेर घरमा बस्ने भए बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो अनुशासन चाहिन्छ । कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति, नियम, विधि, अनुशासन पालना गर्नुपर्छ। यो कुरा कार्यान्वयन गरेर गइन्छ ।’
प्रतिपक्षी र विरोधीहरूको तीव्र प्रहारको सामना गरिरहेको संवेदनशील समयमा सिंगै पार्टी एकजुट हुनुपर्नेमा भित्रभित्रै असन्तुष्टि फैलाउने काम भइरहेको उनको आरोप थियो।
‘जतिबेला विरोधीले तिव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ। सिंगै पार्टी एकजुट भएर, एकताबद्ध भएर, एकताबद्ध पार्टीले सामना गर्नुपर्ने, मुकाविला गर्नुपर्ने ठाउँमा त्यतिबेलै पार्टीभित्र अध्यक्ष हटाउछु भन्याछ, के भन्याछ,’ ओलीले भने, ‘अहिले यी सबै कुरा बेकारका कुरा हुन्।’


