काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नव जन्म पुन स्थापना केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका एसपी सन्तोष तामाङका अनुसार गएराति २ बजे भएको कुटपिटका क्रममा कलैया उपमहानगरपालिका–९ का धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डलको निधन भएको हो ।
मृतक मण्डल सुधार केन्द्रमा गत १५ दिनअघि मात्रै भर्ना भएका थिए । सुधार केन्द्रमा भएका अन्य व्यक्तिसँग उनले वादविवाद गरेपछि कुटपिट भएको थियो ।
महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।



