२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दल र एमालेविहीन देश कसैले कल्पना नगरे हुन्छ डा.थापा

दल र एमालेविहीन देश कसैले कल्पना नगरे हुन्छ डा.थापा

साझा पोष्ट
मंगलबार, पुस १ २०८२
  • images
    images
    दल र एमालेविहीन देश कसैले कल्पना नगरे हुन्छ डा.थापा

    काठमाडौं । जापानको ‘युनिभर्सिटी अफ यामानाशी’ बाट जलस्रोत इन्जिनियरिङमा विद्यावारिधी गरेका ईन्जिनियर डा. भेषराज थापा झण्डै डेढ दशकदेखि प्राध्यापनमा सम्लग्न छन् । प्राध्यापनसँगै उनी राजनीतिमा पनि सक्रिय छन् । उनी हाल नेकपा (एमाले) को प्रोग्रेसिभ इन्जिनियर्स एसोसियसन नेपाल (पीन) का अध्यक्ष छन् ।  थापा अहिले जारी नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार छन् ।   एमाले केन्द्रीय सदस्यमा थापाको उम्मेदवारी किन ? थापासँग कुराकानीको सम्पादित अंश । 


    images

    लामो समयदेखि प्रध्यापनमा हुनुहुन्छ तर अहिले नेकपा (एमाले) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ किन ?

    -नेकपा (एमाले) को एघारौँ महाधिवेशन निकै नै महत्वपूर्ण र चुनौतिपूर्ण घडिमा भक्तपुरमा भब्यतासाथ चलि रहेको छ । यो देशको जनवादी आन्दोलनमा तथा परिवर्तनको आन्दोलनमा एमालेको धेरै ठूलो योगदान छ । तर, सतहमा हेर्दा समयले अहिले नेकपा (एमाले) लाई दपेटेको जस्तो देखिन्छ । नेतृत्वप्रति केही प्रश्न पनि उठेको हो भन्ने लाग्छ । यस्तो परिस्थितिमा पार्टीलाई सहि दिशामा लैजाँदै सिङ्गो मुलुकलाई स्वाधिन र आत्मनिर्भर बनाउनका लागि पनि युवाहरुले उम्मेदवारी दिनै पर्छ । 

    अहिले समाजमा ठूलो बहस छ । राजनीति र नेतृत्व दल भित्रबाट कि बाहिरबाट ? यो बहसमा हाम्रो पार्टी माथि झनै ठूलो प्रश्न चिन्ह उठाइएको छ । यस्तो परिस्थितिबिच दलहरुको सान्दर्भीकतालाई थप बलियो बनाउन पनि युवाहरु अघि आउनै पर्नेछ । लोकतन्त्रमा दलको विकल्प दल बाहेक अर्को हुनै सक्दैन । दलहरुको पुनर्संरचना गर्न तथा नयाँ नेतृत्वमार्फत परिवर्तनलाई थप संस्थागत गर्नका लागि पनि युवाहरुको उम्मेदवारी अपरिहार्य हुन्छ । त्यसैले यो केन्द्रीय समितिमा मैले उम्मेदवारी दिएको हुँ ।

    पेशागत समूहबाट निकै थोरैको उम्मेदवारी हुने गर्छ, तपाईंको उम्मेदवारीलाई आम प्रतिनिधीहरुले के अर्थमा बुझ्ने ?  

    -नेकपा एमालेले यो देशको भौतिक, समाजिक र आर्थिक विकास गर्न जुन योगदान गरेको छ त्यसमा सबै भन्दा ठूलो हिस्सा इन्जिनियरहरुकै छ । तपाईंले धरहराको नाम लिनुस वा सुरुङ्ग मार्गको वा भन्नुस अन्तर्राट्रिय विमान स्थलकै ती सबैको निर्माणको सोच पार्टी नेतृत्वको भए पनि त्यसलाई सार्थक तुल्याउने भनेकै इन्जिनियरहरुले हो । तर, पार्टीमा त्यस्ता व्यक्तिहरुको प्रतिनिधित्व हुन नसक्दा, पार्टीको नीति तथा कार्यक्रममा उनीहरुको योगदानलाई संस्थागत गर्न नसक्दा त्यो ठूलो समुदायबाटै एमाले कट्न पुगेको छ । त्यसैले पनि अबको महाधिवेशनबाट त्यस्ता व्यक्तिहरुको प्रतिनिधित्व हुनुपर्छ भन्ने मत राख्छु म । 

    के ती पेशागत क्षेत्रका विज्ञहरुको पार्टी निर्माण योगदान हुनुपर्दैन ? पार्टीले तर्जुमा गर्नुपर्ने नीतिमा त्यस्ता विज्ञहरु चाहिँदैन ? म के बुझ्छु भने नेकपा (एमाले) ले समयको पदचाप बुझ्छ र त्यसै अनुरुपको पार्टी निर्माणमा भूमिका खेल्छ । समाजको मागलाई एमालेले सम्बोधन गर्छ भन्नेमा म ढुक्क छु । 

    bhesh_1.jpg

    -जेनजी आन्दोलनले नेकपा (एमाले) लाई धेरै नै क्षति पुर्‍याएको राजनीतिक वृत्तमा आँकलन गरिँदैछ । एमाले पनि दक्षिणपन्थी भयो भनेर टिप्पणी भैरहेका छन, यस्तो बेला सहज होला र ? 

    मलाई लाग्छ यो नै सहि समय हो । किनभने जतिबेला देश, पार्टी र समाज अप्ठेरोमा पर्छ, हामी जस्ता युवाहरु मुख लुकाएर भाग्न मिल्दैन । बरु हामीले समयसँग, हुरीसँग पैँठेजोरी खोज्दै त्यसलाई थाम्न, समाजलाई सहि दिशामा मोड्नका लागि प्रयत्न गर्नुपर्छ । एमाले एक मात्र त्यस्तो पार्टी हो, जसले आजसम्मको परिवर्तनलाई यहाँसम्म ल्याई पुर्याउन, त्यसलाई संस्थागत गर्न, संविधानमा लिपिवद्ध गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ । 

    एमालेले हिजो पनि र आज पनि समयको पदचाप बुझ्दै देशलाई र पार्टीलाई नयाँ गति र दिशा दिँदै आएको छ । त्यसैले अहिलेको जेनजी आन्दोलनपछि पनि नेकपा एमालेलाई समयको पदचाप बुझ्ने, निडर, दुरदर्शी, स्पष्ट र नयाँ नेतृत्व चाहिएको छ । 

    तर, दुःखद नै भन्नु पर्ला हामीले विगतको आन्दोलनमा देशमै ठूलो उथल पुथल भएको देख्यौँ । त्यति मात्रै होइन, यो देशको संविधानलाई कुल्चिएको देख्यौँ । संसदको बहुमतबाट चुनिएको सरकारलाई अपदस्त गरेको देख्यौँ । संसद र सिंहदरबार जलाएको देख्यौँ । निरंकुशतालाई घुँढा टेकाएर ल्याइएको लोकतन्त्रले सासै फेर्न नसकेको अवस्था पनि हामीले देख्यौँ र भोग्यौँ । 
    त्यसयता देश सहि राजनीतिक दिशामा अघि बढी रहेको छैन । तथापि देशलाई सहि मार्गमा ल्याउने काम पनि एउटा जिम्मेवार राजनीतिक दलका रुपमा हाम्रै हो । 

    म एमालेको एउटा कार्यकर्ताका हिसाबले आमागी चुनौतीको सामना गर्दै मुलुकलाई सहि ट्रयाकमा लैजान राजनीतिक दलहरुले नै सहि ढंगले काम गर्नुपर्छ भन्ने ठान्छु । त्यसका लागि पार्टीहरुमा नयाँ नेतृत्व आउनु पर्छ । एमाले आज त्यही मोडमा उभिएको छ । मलाई विश्वास छ एमालेको एघारौँ महाधिवेशनबाट देश र समाजले अपेक्षा गरे अनुरुपको युवा र सक्षम नेतृत्व चुनिएर आउने छ । त्यसैले मलाई एमालेको कार्यकर्ताका रुपमा उम्मेदवारी दिँदैगर्दा गौरवबोध छ । 

    अन्त्यमा तपाईं कुन प्यानलबाट चुनावमा होमिनु भएको छ ?

    देश नै संकटमा उभिएको बेला, पार्टीको नेतृत्वमाथि गम्भीर आलोचना भई रहेको बेला को व्यक्ति कुन प्यानलबाट उठेको छ भन्ने महत्वपूर्ण प्रश्न होइन । महत्वपूर्ण प्रश्न के हो भने के नेकपा (एमाले) देशको पक्षमा उभिएको छ ? के नेकपा (एमाले) यो देशको विकास र आर्थिक समृद्धिका लागि कटिवद्ध छ ? के नेकपा (एमाले) यो देशका आम मजदुर, किसान र बेरोजगार युवाहरुको पक्षमा छ भन्ने हो । के नेकपा (एमाले) आफ्नै नीतिप्रति, जनताको बहुदलिय जनवाद प्रति प्रतिवद्ध छ ? 

    यदि छ भने मलाई के विश्वास छ भने पार्टीको पक्षमा अहोरात्र पहरेदार भएर उभिएका महाधिवेशनका प्रतिनिधि अग्रज, साथी, मित्रहरुले पार्टीको हितमा हुने उम्मेदवारको चयन गर्नुहुनेछ । यो महाधिवेशनमा व्यक्ति, समूह भन्दा पनि पार्टीले लिने निर्णय नै सबै भन्दा महत्वपूर्ण हो । अब चुनिने नेतृत्वले एमालेलाई समाजको तल्लो तहसम्म गौरब साथ उभ्याउन भूमिका खेल्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु । त्यसैले म के भन्न चाहन्छु भने दल बिहिन देश र एमाले बिहिन मुलुकको कल्पना गर्नेहरु यो अधिवेशनको नतिजासँगै निराश हुनेछन ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार