काठमाडौं,साउन ३० । नेपाल आयल निगमले आज काठमाडौँका पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर अहिले बिहान १० बजेदेखि बिक्री-वितरण भइरहेको निगमले जानकारी दिएको छ।
निगमले निकालकाे सूचना अनुसार टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण भैरहेकाे छ।
यसैगरी यातायात कार्यालय परिसर चाबाहिलबाट नेपाल र एचपी ग्यास, राधास्वामी कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गरिएकाे छ।
निगमनका अनुसार राधास्वामी वसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम, पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास पाइनेछ ।
निगमले अति आवश्यक भएका व्यक्तिले मात्र आआफ्ना नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानमा उपस्थित भई ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ।
साथै निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गर्दै यसको बिक्री-वितरण सम्बन्धित उद्योगले आआफ्ना विक्रेतामार्फत नियमित रूपमा गरिरहेको जनाएको छ।


