२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

साझा पोष्ट
बुधबार, चैत २५ २०८२
  • images
    images
    कोभिडपछि विश्व पर्यटन क्षेत्र पुनःस्थापित भइसक्दा नेपाल अझै रिकभरीको चरणमैः सिईओ जोशी

    काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले कोभिड–१९ को महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्णरूपमा पुनःस्थापित भइसक्दा पनि नेपाल अझै रिकभरीको चरणमै रहेको बताएका छन् । 


    images

    उनका अनुसार सन् २०२५ मा विश्व पर्यटन कोभिड अघिको अवस्था भन्दा करिव ४ प्रतिशतले वृद्धि भइसकेको छ । तर नेपाल भने अझै २ प्रतिशतले पछाडि छ । सन् २०२६ मा पनि नेपालले पूर्ण रिकभरी गर्न नसक्ने अवस्थामा आईपुगेको जोशीले बताए ।  नेपालले पनि २०२५ मा १५ प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरी त्यसै अनुसार पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका कार्यक्रम पनि सञ्चालन गरेको थियो । तर ‘जेन–जी मुभमेण्ट’ र दशैं–तिहारको समयमा भएका प्राकृतिक विपद् (बाढी–पहिरो) र त्यसका कारण सडक अवरोध तथा उडान रद्ध हुँदा पर्यटन क्षेत्रमा असर परेको उनले बताए । 

    पर्यटन आगमनले कमजोर देखिएपनि यस क्षेत्रको लगानीमा भने उल्लेखनीय प्रगति भएको उनको दाबी छ ।  विशेषगरी कोभिडपछि होटल तथा रिसोर्ट क्षेत्रमा ठूलो लगानी भित्रिएको छ । उनका अनुसार कोभिडअघि करिव १०–१२ वटा मात्रै पाँचतारे होटल रहेकोमा हाल १५ भन्दा बढी सञ्चालनमा आएका छन् र अन्तर्राष्ट्रिय चेन होटल र लक्जरी सेग्मेन्टमा समेत विस्तार भएको छ ।

    जोशीले भने, ‘कोभिडपछिको पर्यटन हेर्ने हो भने संसारभरी २०२५ मा नै रिकभर भइसक्यो, तर हामी अझै रिकभरीको अवस्थामा पुगेका छैनौँ । संसारको पर्यटन कोभिड अगाडीको भन्दा ४ प्रतिशत बढी ग्रोथ छ भने हामी अझै १÷२ प्रतिशत अझै पछाडी नै छौँ । रिकभरीमा नै हामी पुगेका छैनौ । लगानीको हिसावमा भने हामी धेरै अगाडी छौँ । कोभिड पछाडी मात्रै खासगरि हस्पिटालिटि सेक्टरमा होटल, रिसोर्ट क्याटागोरीमा एकदमै ठूलो लगानी आएको छ । कोभिड अगाडी १०÷१२ वटा पाँच तारे होटल थिए भने अहिले १५ भन्दा बढी पाँच तारे होटल छन् । सबैखालका अन्तर्राष्ट्रिय चेन होटल पनि नेपालमा आइसकेको देखिन्छ । त्यो बाहेक लक्जरी सेग्मेन्टको लगानीहरु पनि आएको छ । सन् २०२५ मा हाम्रो पर्यटन आगमनमा १२ देखि १५ प्रतिशतसम्मको ग्रोथ हुन्छ कि भन्ने थियो । त्यहीअनुसार प्रचारप्रसारका कामहरु पनि भइरहेका थिए । बीचमा जेन–जी मुभमेण्ट र त्यसपछि दशै र तिहारको समयमा भएको दुई वटा नेचुरल डिजास्टरले गर्दा समस्या भयो । बाढीपहिरोले सडक अवरुद्ध भयो, थुप्रै फ्लाईटहरु क्यान्सिल भए । त्यो समय पर्यटकको लागि मुख्य सिजन थियो । त्यसले पनि पर्यटन आगमनमा समस्या ल्यायो ।’ 

    जेन–जी आन्दोलनले पर्यटन क्षेत्रमा दीर्घकालीन नकारात्मक असर भने नपारेको र सुशासनको लागी भएको आन्दोलन भन्ने सन्देश गएकोले पर्यटन छिट्टै लयमा फर्किएको उनले दाबी गरे । 
     ‘हामीले ३० प्रतिशत डाउन हुन्छ कि भन्ने सोचेका थियौँ । सेप्टेम्वरमा आगमन डाउन नै छ, त्यसपछि हाम्रो रिकभरी अलि छिटो भयो ।’ जोशीले भने । 

    ध्यपूर्वको तनावले नेपालको पर्यटन क्षेत्रमा नयाँ चुनौती  

    जोशीले पर्यटनको लागि सन् २०२६ को शुरुवात सकारात्मक देखिएपनि नयाँ चुनौतीहरू थपिएको बताए । । मध्यपुर्वमा देखिएको तनावको कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो चुनौती खडा भएको उहाँको भनाई छ । उनका अनुसार जनवरीमा १५ दशमलब ७ प्रतिशत र फेब्रुअरीमा ८ प्रतिशतले पयर्टन आगमनमा वृद्धि भएको थियो । तर मार्चमा मध्यपूर्व संकटका कारण भएको हवाई मार्ग अवरोध र इन्धन संकटले पर्यटन आगमनमा कमी आएको छ । ईन्धनमा देखिएको अवरोधले सेवा समेत महँगो हुँदै जाने उल्लेख गर्दै उनले यो अवस्था लम्बिएमा यातायात, होटल र रेष्टुरेण्ट सेवामा समेत मूल्यवृद्धि हुने बताए । मूल्यवृद्धिको प्रत्यक्ष असर पर्यटकमा पनि पर्ने उनी बताउँछन् । 
    , ‘२०२६ मा मार्चमा ईलेक्सनको समय थियो, त्यतिबेला फेरि द्वन्द्व, झगडा हुन्छ कि भन्ने चिन्ता थियो तर त्यसो भएन । जनवरीमा १५.७ प्रतिशतले ग्रोथ भयो, जुन राम्रो मानिन्छ । फेब्रुअरीमा ८ प्रतिशतले ग्रोथ भयो । मार्चमा आएर मध्यपुर्वको क्राईसिसले ठूलो चुनौती ल्याएको छ । एउटा त हाम्रो त्यो रुट नै बन्द भयो, अर्को फ्युल क्राईसिसले गर्दा हामीले दिने सेवा डबल महंगो भएको जस्तो देखिन्छ, जस्तो अहिले एअरलाईन्सकै कष्टहरु बढेर आएको छ । यो लम्बियो भने हाम्रो ट्रान्सपोर्टको होटल, रेष्टुरेण्टले दिने सर्भिस पनि महंगो हुनसक्ने देखिन्छ । त्यसले अलि चुनौतीपूर्ण अवस्थामा नै हामी छौँ । यो अवस्थामा पनि हामी कसरी आगमन बढाउनसक्छौँ भन्ने वैकल्पिक बाटोको खोजीमा छौँ ।’ जोशीले भने । 

     नेपालमा पर्यटन बढाउन व्यवस्थापकीय सुधार अति आवश्यक रहेको र साना तर महत्वपूर्ण व्यवस्थापकीय कमजोरीले नेपालको छवि धुमिल भएको बताए । नेपाल राम्रो देश र राम्रो मानिस भएको ठाउँ भएपनि व्यवस्थापनमा कमजोर छ भन्ने सन्देश गएको उनको बुझाई छ । पर्यटन क्षेत्रसँग सम्बन्धित पूर्वाधार, अध्यागमन सेवा, संरक्षित क्षेत्र व्यवस्थापन र आन्तरिक उडान ढिलाइ जस्ता समस्याहरू समाधान गर्नुपर्नेमा उनले जोड दिए । पर्यटकलाई अनावश्यक रूपमा यात्रा लम्ब्याउनुपर्ने अवस्था आउनु नकारात्मक हुने उनको भनाइ छ । 


    उनले भने, ‘हामीले फिक्स गर्नुपर्ने साना कुराहरु नै हो । साना कुरा राम्रो भयो भने ठूला चिजहरुको लागि फाउण्डेशन तयार हुन्छ । साना चिजले हामीलाई नचाहिने ईन्गेजमेण्ट बढाएको छ । साथै नकरात्मक सन्देश पनि गएको छ । नेपालमा वेल म्यानेज छैन, राम्रो देश, राम्रो मान्छे भएको ठाउँ तर व्यवस्थापकिय हिसावमा नेपाल त्यति राम्रो छैन भन्ने बुझाई छ । त्यसले गर्दा पनि क्राईसिस हुँदा पर्यटकको आगमन घटिहाल्ने र कन्ट्रोल हुँदा बढिहाल्ने कारण त्यो पनि हो । यसका लागि हामीले प्राथिमिकतालाई पहिचान गरेर काम गर्नुपर्छ । पर्यटनको नेचर पनि बुझ्नुपर्छ । यसको नेचर पर्यटन क्षेत्रले मात्रै बुझेर हुँदैन, यस क्षेत्रमा जोडिएका धेरै क्षेत्रहरु छन् । राम्रो सडक यातयातको पुर्वाधार पर्यटनसँग जोडिएको मुख्य सेक्टर हो । अध्यागमनबाट दिने सेवासर्भिसहरु भए । हामीकहाँ कतिपय निषेधित क्षेत्र, संरक्षित क्षेत्र छन्, त्यहाँबाट दिने सेवा सुविधा, आन्तरिक उडानमा डिले हुने व्यापक समस्या छ । नेपाल घुम्न आएको पर्यटकलाई हाम्रो कारणले यात्रा लम्ब्याउनुपर्ने अवस्था आयो भने राम्रो हुँदैन ।’ 

    नयाँ पर्यटकीय क्षेत्रको ब्राण्डिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ

    नेपालले आफ्नो पर्यटन क्षेत्र उत्पादनको पहिचान र नयाँ प्याकेजिङमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको जोशीले बताए । हाल परम्परागत गन्तव्यहरू काठमाडौं, पोखरा र चितवनलाई नै सिमित गरेर पर्यटन प्रवद्र्धनको काम भईरहेको उनको भनाई छ । उनले यसलाई विविधिकरण गर्नुपर्ने बताए । उनले नेपालमा अध्यात्मिक सामुदायिक वन रहेको उल्लेख गर्दै जोशीले हरित पर्यटनमा जोड दिनुपर्ने बताए । वनमा चराचुरुङ्गी अवलोकन तथा नदीमा एङ्गलिङ जस्ता नयाँ सम्भावनाहरू रहेको उनको भनाई छ । उनले हालै सेती नदीमा हालै एङ्गलिङ गरिएको जानकारी दिए । नेपालको सेती नदीमा १ सय भन्दा बढी ‘गोल्डेन महासिर’ रहेको उनको भनाई छ । उनले यस्ता अद्वितीय र दिगो पर्यटन उत्पादनको पहिचान र प्रवद्र्धन गर्नसके नेपालका लागि नयाँ अवसर सिर्जना हुन सक्ने बताए । 
    जोशी भन्छन्, ‘नेपालको पर्यटन क्षेत्रमा दुई तीन वटा चिजहरु हामीले गर्न बाँकी छ । भएको चिजलाई पनि हामीले नयाँ प्याकेजिङ, नयाँ क्यरेसन गर्नेकुरा हामीकहाँ कम छ । त्यसका लागि हामीले हाम्रो निजी क्षेत्रलाई ईन्करेज र एजुकेटेड गर्नुपर्नेछ । अहिले पनि हामीले ट्रेडिसनल प्याकेजहरु नै बढी बेचिरहेका छौँ । काठमाडौं, पोखरा, चितवन अथवा काठमाडौंभित्र पनि केही सिमित ठाउँमात्रै । नयाँ नयाँ चीजहरु हामीले ल्याउनसकेका छैनौँ । पछिल्ला समयमा हामीसँग २० हजार भन्दा बढी सामुदायिक वनहरु विकास भए, २५÷३० वर्षमा । त्यो चिजमा कार्वन न्युट्रल, कार्वन नेभेटिभ अथवा ग्रीन टुरिजम प्याकेज भनेर प्रशस्त ल्याउन सकिने ठाउँहरु छ । त्यहीभित्र कति धेरै चराहरुको संख्या बढेको छ । हामीले हालै सेती नदीमा एङ्गेलिङ  (माछा समाउने) ईभेन्ट गरेका थियौँ, यो युरोपमा सबैभन्दा बढी हुने एक्टिभिटिज हो । यो नेपालको लागि एकदमै नयाँ हो । यसमा नेपालले सोच्नुपर्ने के छ भने युनिकनेस र दिगोपना हुने खालको चिजहरु धेरै छन् । तर हामीले त्यसलाई प्याकेजिङ गर्न सकेका छैनौँ । हामीलाई हाम्रै प्रोडक्टको स्ट्रेन्थ थाहा हुँदो रहेनछ । एकजना स्कटिस जसले महाकाली नदीमा पिएचडी गर्नुभएको थियो । उहाँसँगको कुराकारनीपछि यसको डिटेल आईडिया थाहा भयो । अहिले यो अफगानस्थानदेखि युनानसम्म करिव ८०÷७० रिभरमा गोल्डेन महासिर पाइँदो रहेछ । अधिकांश रिभरमा अहिले कम भइसकेको छ, त्यो । नेपालको सेती नदी जुन छ, सेती नदीमा १०० भन्दा बढी गोल्डेन महासिर छन् । एक प्रकारले भन्ने हो भने त त्यो हाम्रो लागि एभरेष्टजस्तै भयो नी । यस्ता थुप्रै चिज छन् हामीले खोजी गरेर प्रचार गर्नुपर्ने छ ।’ 

    जोशीले पर्यटकलाई दुःख दिने काम पनि गर्न नुहने बताए । पोखरामा पर्यटक बसिरहेको बेला होटलमा डोजर चलाएको प्रसंग उल्लेख गर्दै उनले त्यस्ता विषयमा पर्यटकहरुलाई अग्रिम सूचना दिनुपर्ने बताए । 

     ‘विगतमा मजदुर आन्दोलन हुँदाखेरी बसिरहेको गेष्टहरुलाई बाहिर निकालेर होटल बन्द गरिदिने, बाटो बन्द गरिदिने काम हुन्थ्यो । हाल पोखरामा केही होटलहरुमा डोजर चल्यो, एकदिन अगाडी गएर पर्यटकलाई कुनै सम्बन्धित निकायले सूचना दिनुपर्ने थियो । तपाईंहरु सुरक्षित बस्नुहोस्, यो मापदण्ड विपरित भएकोले भत्काउन लाग्दैछौँ भन्ने जानकारी दिनुपर्छ ।’ जोशीले भने । 

    उनले पर्यटकहरुलाई सहजताको लागि पर्यटन बोर्डले ‘क्राइसिस कोअर्डिनेसन सेल’ स्थापना गरेको पनि जानकारी दिए । हड्ताल, कफ्र्यु वा सडक अवरोधका बेला विमानस्थलदेखि होटलसम्म शटल बस सञ्चालन गर्ने तथा प्राकृतिक विपद्का समयमा स्थानीय सरकार, जिल्ला प्रशासन, पर्यटन प्रहरी र निजी क्षेत्रसँग सहकार्य गरी उद्धार तथा समन्वय गर्ने व्यवस्था गरिएको उनले बताए । जोशीले पर्यटन बोर्डले चाहेर पनि धेरै काम बजेट र जनशक्ति अभावका कारण गर्न नसकेको बताए । केही नितिगत कारण पनि समस्या भईरहेको उनको भनाई छ । – न्युज एजेन्सी नेपाल 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार