२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

अर्थतन्त्रमा गहिरो सुधारका लागि ‘सर्जरी’ आवश्यकः युवराज खतिवडा

अर्थतन्त्रमा गहिरो सुधारका लागि ‘सर्जरी’ आवश्यकः युवराज खतिवडा

साझा पोष्ट
सोमबार, वैशाख १४ २०८३
  • images
    images
    अर्थतन्त्रमा गहिरो सुधारका लागि ‘सर्जरी’ आवश्यकः युवराज खतिवडा

    काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान अर्थतन्त्र वाह्य सूचकहरू हेर्दा केही सुधारिएको देखिए पनि वास्तविक रूपमा अझै अस्वस्थ रहेको बताएका छन् । 


    images


    नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा खतिवडाले अहिले बाह्य क्षेत्र सन्तुलित देखिएको, मूल्यवृद्धि नियन्त्रणमा रहेको र आर्थिक वृद्धि करिव २–३ प्रतिशतको हाराहारीमा रहेको भएपनि त्यो त्यति सकारात्मक नरहेको बताए ।

    उनका अनुसार चार–साढे चार प्रतिशत वृद्धि भएको भए राम्रो मानिन्थ्यो, अहिलेको अवस्था औसत मात्रै हो । खतिवडाले विगतमा रहेको अत्यधिक कर्जा  र तरलताको समस्या अहिले केही हदसम्म समाधान भएपनि सुधार स्वाभाविक नभएको समेत बताए । 
    खतिवडाका अनुसार अहिलेका समस्याहरूको समाधान साना–साना ‘फिजियोथेरापी’ जस्ता मौद्रिक उपायले सम्भव छैन, ठूला संरचनात्मक सुधार अर्थात ‘सर्जरी’ आवश्यक छ ।  

    नेपालको मुख्य समस्या व्यावसायिक वातावरण कमजोर हुनु हो । लगानी सुरक्षित हुन्छ भन्ने विश्वास सिर्जना गर्न नसक्दा निजी क्षेत्र निरुत्साहित भएको र सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन भने ब्याजदर घटाएर मात्रै कर्जा प्रवाह नबढ्ने उनले बताए । 
    खतिवडाकाअनुसार नेपाल अहिले “लिक्विडिटी ट्र्याप” जस्तो अवस्थातर्फ पुगेको छ । जहाँ ब्याजदर ऐतिहासिक रूपमा न्यून भए पनि कर्जा प्रवाह बढ्न सकेको छैन । विगतमा १८–२२ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा विस्तार २० प्रतिशतसम्म पुगेको उदाहरण छ, तर अहिले करिब ६ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा माग नबढ्नु अस्वाभाविक स्थिति रहेको उनको भनाइ छ ।


    पूर्वगर्भनर समेत रहेका खतिवडाले भने– ‘अहिले अर्थतन्त्र यसो सरसर्ती हेर्दा वाह्य क्षेत्र राम्रो छ, मूल्य ठीक छ । आर्थिक वृद्धि पनि दुई–तीन प्रतिशतको बीचमा छ । चार साढे–चार भएको भए ठिकै हुन्थ्यो । तीनको वरिपरि हुन्छ आदि इत्यादि भनिरहेका छौँ । क्रेडिटको पनि पहिले एकदमै क्रेडिट ओभरह्याङ थियो, स्पिल ओभर थियो, अब अहिले ठिकै भएको छ, यी सबै भनौँला हामी । तर हामीले अर्थतन्त्र हेल्दी रूपले मोटाएको हो कि सुनिएको हो, यो चाहीँ बुझ्नुपर्छ । अर्थतन्त्रको जुन स्वस्थता हामीले भन्छौँ, त्यो स्वाभाविक स्वस्थतामा अर्थतन्त्र छैन । समस्याका चाङहरू छन् । व्यावसायिक वातावरण हामीले बनाउन सकेका छैनौँ । व्यावसायिक वातावरण बनाएर लगानीकर्तालाई प्रोत्साहित गर्ने र लगानी सुरक्षित हुन्छ भन्ने वातावरण नबनाउन्जेलसम्म राष्ट्र बैंकले दिएका सानातिना फिजियोथेरापीले काम गर्नेवाला छैन । फिजियोथेरापीले धेरै काम गर्ने छैन, सर्जरी गर्नुपर्ने अवस्था छ । अलि ठूलै अपरेसन गर्नुपर्ने अवस्था छ ।’


    खतिवडाले समस्या केवल नेपाल राष्ट्र बैंकको नीतिमा सिमित नभई राजनीतिक, सरकारी र निजी क्षेत्र सबै तहमा रहेको बताए । उनले विगतमा व्यवसायीमाथि भएको धरपकड र असुरक्षाले लगानी वातावरण बिग्रिएको उल्लेख गर्दै त्यसको सुधार नगरेसम्म आर्थिक गतिविधि नबढ्ने बताए ।

    खतिवडाका अनुसार कर्जाको गुणस्तर र उत्पादक उपयोगलाई ठूलो चुनौती छ । विगतमा कर्जा २५ प्रतिशतले बढ्दा पनि आर्थिक वृद्धि २–४ प्रतिशतमा सीमित भएको उदाहरण दिँदै उनले कर्जाको प्रभावकारिता कमजोर रहेको उनको भनाइ छ । उनका अनुसार वर्किङ क्यापिटल, टीआर लोन, विपन्न वर्ग कर्जा तथा निर्देशित कर्जा कार्यक्रमहरू सबैको पुनरावलोकन आवश्यक छ । 
    खतिवडाले निर्देशित कर्जा कार्यक्रमलाई सानो–सानो खण्डमा विभाजन गर्नुको सट्टा उत्पादनशील क्षेत्रहरूमा समग्र ‘प्याकेजिङ’ गरेर कर्जा प्रवाह गर्न सुझाव दिए । –न्युज एजेन्सी नेपाल
     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार