काठमाडौं । सरकारले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण र कार्यशैलीप्रति निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।
मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण रहे पनि सरकारले व्यवसायीका समस्या सुन्नुको सट्टा ‘पहिले थुन्ने अनि सुन्ने’ रणनीति अख्तियार गरेको उनीहरूको आरोप छ । केही समयअघि मात्रै व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई पक्राउ गरी हिरासतमा लिएको छ । साथै व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल लगायतका व्यवसायीहरुलाई अनुसन्धानका लागि भन्दै हिरासतमा लिएको छ । यसबारेमा निजी क्षेत्रका अगुवाहरुले भने सरकारको आलोचना गरेका छन् । उनीहरुले व्यवसायीलाई थुनेर लगानीको वातावरण बिगारेको आरोप लगाएका छन् । व्यवसायीहरुलाई पहिला मजबुत आधार बिना पक्राउ नगर्न सुझाव दिएका छन् ।
निजी क्षेत्रलाई ‘प्रतिपक्ष’ ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबिचको सम्बन्ध ‘पक्ष र प्रतिपक्ष’ को जस्तो हुन नहुने बताए । महासंघको वार्षिक साधारण सभाको सन्दर्भमा बोल्दै उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने र पुराना कानूनहरूको सुधार अनिवार्य रहेको उल्लेख गरे ।
अध्यक्ष ढकालले कालोबजारी ऐन जस्ता पुराना र अव्यवहारिक कानूनहरूले व्यवसायीलाई अप्ठ्यारोमा पारेको चर्चा गर्दै त्यस्ता प्रावधानमा सुधार ल्याउन महासंघले निरन्तर पहल गरिरहेको जानकारी दिए ।
कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिने निजी क्षेत्रलाई राज्यले वास्तविक आर्थिक इन्जिनका रूपमा स्वीकार गर्नुपर्ने उनको तर्क छ । अध्यक्ष ढकालले व्यवसायीमाथि हुने धरपकड र नियन्त्रणमुखी व्यवहारले समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै निजी क्षेत्रका साझा एजेण्डामा सबैको ऐक्यवद्धता आवश्यक रहेको बताए ।
सरकारको ‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीको वातावरण बिग्रियोः पूर्वअध्यक्ष मल्ल
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले सरकारले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण र कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरे । मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएपनि सरकारले व्यवसायीका समस्या सुन्नुको सट्टा नियन्त्रणमा लिने प्रवृत्ति देखाएको उनको आरोप छ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको सन्दर्भमा बोल्दै पूर्वअध्यक्ष मल्लले सरकारले ‘पहिले थुन्ने अनि सुन्ने’ रणनीति अख्तियार गर्दा मुलुकमा लगानी र व्यवसाय गर्ने वातावरण नराम्ररी प्रभावित भएको बताए ।
मल्लले सरकारले दिने आश्वासन र व्यवहारमा ठूलो भिन्नता रहेको उल्लेख गर्दै नीतिगत स्पष्टता नहुँदा र झन्झटिलो व्यवस्थाका कारण व्यवसायीहरू मर्कामा परेको तर्क गरे । उनले राज्यले नियन्त्रणमुखी सोच त्यागेर निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म मुलुकको समृद्धि सम्भव नहुने समेत स्पष्ट पारे ।
बिना प्रमाण व्यवसायी थुन्ने प्रक्रियाले निजी क्षेत्रको मनोबल गिर्याे : हेमराज ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकालले अनुसन्धानका नाममा व्यवसायीहरूलाई बिना प्रमाण थुनामा राख्ने प्रक्रियाप्रति आपत्ति जनाए । प्रतिकुल आर्थिक वातावरणमा निजी क्षेत्रलाई साथ दिनुको सट्टा राज्यले धरपकडको बाटो रोजेको उनको गुनासो छ ।
उनले यस्तो प्रवृत्तिले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र आन्तरिक लगानी दुवैलाई निरुत्साहित गरिरहेको बताए । ढकालले निजी क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतभन्दा बढी योगदान पु-याए पनि राज्यको प्राथमिकतामा पर्न नसकेको उल्लेख गरे । सरकारले सयौँ वर्षदेखि राजश्व र रोजगारीमा योगदान दिने वर्गलाई थुन्ने र त्रसित पार्ने काम गरिरहेको भन्दै उनले ‘अग्रिम जमानत’ जस्ता उदार कानूनको आवश्यकतामा जोड दिए ।
आरोपका भरमा व्यवसायी पक्राउ गरिएकोप्रति उपाध्यक्ष श्रेष्ठको आपत्ति
नेपाल उद्योग वाणिज्य महासंघकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले पछिल्लो समय केही व्यवसायीहरूलाई आरोपकै आधारमा पक्राउ गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिन । उचित अनुसन्धान र ठोस प्रमाणबिना नै व्यवसायीहरूलाई नियन्त्रणमा लिने कार्यले निजी क्षेत्रलाई हतोत्साहित बनाएको उनले बताइन । उपाध्यक्ष श्रेष्ठले कुनैपनि व्यक्तिलाई दोषी ठहर नहुँदै वा पर्याप्त अनुसन्धान नगरी कारबाहीको दायरामा ल्याउनु न्यायोचित नहुने उल्लेख गरिन । बिनाप्रमाण थुनामा राख्ने प्रवृत्तिले समग्र व्यावसायिक क्षेत्रको आत्मविश्वास र भरोसालाई कमजोर बनाउँदै लगेको उनको तर्क छ ।
राज्य संयन्त्र निजी क्षेत्रप्रति कठोर बनेकोमा ज्ञानेन्द्रलाल प्रधानको आपत्ति, सशक्त प्रतिरोध गर्ने चेतावनी
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले निजी क्षेत्रमाथि भइरहेको धरपकड र राज्यको व्यवहारप्रति कडा आपत्ति जनाए । उद्योगी–व्यवसायीहरूले देशको अर्थतन्त्र र विकासमा पु-याएको योगदानलाई नजरअन्दाज गर्दै राज्य संयन्त्रले विना आधार जेल हाल्ने काम गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। प्रधानले निजी क्षेत्रले उद्योग मात्र सञ्चालन नगरी देशको समग्र विकासमा अभिन्न भूमिका निर्वाह गरिरहेको स्पष्ट पारे ।
पछिल्लो समय उद्योगीहरूलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने त्रासपूर्ण वातावरण बनेको उल्लेख गर्दै उनले राज्यको यस्तो कदमको निजी क्षेत्रले सशक्त प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।


