काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले बस्ती व्यवस्थापन गर्ने क्रममा सुकुम्बासीमाथि भएको सरकारी व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावले आफू स्तब्ध भएको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद खनालले यस्तो विषयमा सरकार अझ बढी संवेदनशील बन्नु पर्नेमा पनि उनले जोड दिएका छन् ।
‘ हामी आज जुन जिम्मेवारीमा छौंँ, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैँ हृदयमा राख्नुपर्छ ।’ सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबैभन्दा अमूल्य विषय हो । सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित आजको दुःखद घटनाले मलाई स्तब्ध बनाएको छ।’
सांसद खनालले विस्थापन नभइ सुरक्षित व्यवस्थापनको मान्यतालाई प्राथमिकता दिँदै आएको पार्टीले बस्ती व्यवस्थापन क्रममा बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावमा संवेदनशीलता अपनाउनु पर्ने महसुस गरेको बताएका छन् । उनले भनेका छन्, ‘हामी आज जुन जिम्मेवारीमा छौँ, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैँ हृदयमा राख्नुपर्छ ।’
उनले सरकारको प्रयासले कोही पनि नागरिकलाई पीडा नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा सचेत रहेको बताएका छन् । ‘सुरक्षित बसोबासको लक्ष्य बोकेको सरकारले यसको व्यावहारिक कार्यान्वयन गर्दा न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ,’ उनले भनेका छन्, ‘सरकारको दृष्टि सबैमा पुगोस् र यसमा सजगता अपनाउनेछ भन्ने विश्वास छ ।’


