काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थामा छापा मारेको छ ।
कार्यालयले शुक्रबार विभिन्न स्थानमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूमा अनुगमन तथा छापा मारेको जनाएको छ ।
यस क्रममा ६९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामाथि स्क्रिनिङ गरेर थप अनुसन्धान अघि बढाइनेछ ।
प्रहरीले शैक्षिक परामर्शका नाममा भइरहेको ठगी, अवैध कारोबार तथा कागजातसम्बन्धी अनियमितताको आशंकामा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रहरीले विदेशमा पढ्न पठाउने आवरणमा कन्सल्टेन्सीबाट ठगिएकाहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेपछि सार्वजनिक सूचना जारी गरेर पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।


