काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा तनाव भएको छ तनाव चर्किएपछि रास्वपाका सांसदसहितका नेता बैठकबाट लखेटिएका छन् ।
आज कलैयामा आयोजित बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए । सहभागीहरूका अनुसार उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो ।
विवाद बढ्दै जाँदा आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठक स्थलबाट धक्का दिएर बाहिर निकालेका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ ।
केही दिनअघि मात्रै संस्थापक जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि रास्वपा बारा जिल्लाभित्रको विवाद थप गहिरिएको छ । स्वर्णकारलाई रास्वपाले साधारण सदस्यबाट समेत निकालेको छ ।


