काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले चुनावमा गरेको वाचा अनुसार आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाई गरेका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को मा पर्ने काठमाडौँ महानगरपालिका वडा–४ स्थित विशाल मिलन केन्द्रमा मन्त्री पोखरेलले पहिलो सुनुवाई कार्यक्रम गरेका हुन् । उनले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरे ।
मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाए ।
सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे । उनले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराए ।
मन्त्री पोखरेलले देश भकारका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गरे । । यसअघि सबै विद्यालयलाई समाज बजेट पटाउँदा समस्या उत्पन्न भएको भन्दै उनले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोही अनुरूप बजेट पठाइने उल्लेख गरे ।
मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिए ।
मन्त्री पोखरेलले सोही निर्वाचन क्षेत्रको जनप्रतिनिधिको हैसियतले स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तीनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।
सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खाने पानीलगायतका गुनासो गरेका थिए । सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आई नपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो पोखेका थिए ।
उनीहरूले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बत्ती, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष अनुरोध गरेका थिए ।
यस्तै त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो समेत राखेका थिए ।
स्थानीय जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिएबमोजिम गर्न निर्देशन दिइएको बताए । उनले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चित गरिने बताउनुभयो ।
त्यसै गरी सडक बत्ती र सिसिटिभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर चाडै समाधान गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री पोखरेलले उपकुलपतिको छनोट प्रक्रिया सकिए लगत्तै त्रिवि सेवा आयोग लगायत सबै परीक्षाको परीक्षाफल नियमित समयमा ल्याइने विश्वास व्यक्त गरे ।
काठमाडौँ क्षेत्र नं ५ मा १५ वडामध्ये हरेक महिना कम्तीमा एक–एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी अघि बढेको मन्त्री पोखरेलले बताए ।
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले जनसरोकारका विषयलाई संसद् र सरकारले आवश्यक सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् । गकार्यक्रममा क्षेत्र नं ५ का उल्लेख्य सङ्ख्यामा स्थानीय जनता, बुद्धिजीवी, समाजसेवीलगायतको उपस्थिति थियो ।


