काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको रोष्ट्रमबाट दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै सीमाजस्तो संवेदनशील विषयलाई प्रधानमन्त्रीले संसदबाट प्रस्तुत गरेको शैली आपत्तिजनक भएको बताएका छन् ।
उनले भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयाँ नभए पनि नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अप्रमाणित अभिव्यक्ति सर्वथा अनुचित रहेको राप्रपाको ठहर रहेको उल्लेख गरेका छन् ।
लिङ्देनले उक्त विषयमा यथार्थ सार्वजनिक गरी स्पष्ट पार्न प्रधानमन्त्री तथा नेपाल सरकारसँग माग गरेका छन् । साथै, यस विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनकाे भनाइ जस्ताकाे तस्तै
प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसदको रोष्ट्रमबाट सीमाजस्तो संवेदनशील विषयलाई आज जसरी प्रस्तुत गर्नुभयो त्यो आपत्तिजनक छ । भारतद्वारा नेपाली भूमि अतिक्रमणको विषय नयॅा नभए पनि नेपालले छिमेकी भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले रोष्ट्रमबाट नै अप्रमाणित अभिव्यक्ति दिनु सर्वथा अनुचित भएको राप्रपाको बुझाइ छ ।
यस विषयमा यथार्थ प्रष्ट पार्न राप्रपा प्रधानमन्त्री एवं नेपाल सरकारसँग माग गर्दछ। साथै, यस सम्बन्धमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक हुनुपर्दछ ।


