काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज तीन महिनापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।
उनी केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेका हुन् । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने कार्यशाला आज ओलीले उदघाटन गर्ने छन् । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन आज बिहान ११ बजे पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे छलफल अभिमुखीकरण हुने बताइएको छ ।
कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन् । पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको उपस्थिति रहनेछ ।


