२०८३, असोज २२ गते

बिहीबार , असोज २२ गते २०८३

बिहीबार , असोज २२ गते २०८३

अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन डलर सहयोग गर्ने

अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन डलर सहयोग गर्ने

साझा पोष्ट
बिहीबार , असोज २२ २०८३
  • images
    images
    अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन डलर सहयोग गर्ने

    काठमाडौं, असोज २२ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकि विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।


    images

    मेलबर्नमा बिहीबार भएको  भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ। 

    भेटवार्तामा दुवै मन्त्रीहरूले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको घनिष्ठ, मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरे। लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा जनस्तरको सुदृढ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा पनि उनीहरूले  जोड दिए।

    सो अवसरमा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन्।  

    मन्त्री वङले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेका छन्।  

    यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि प्रतिबद्ध गरेको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा उक्त रकम थप हुनेछ। नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका कार्यमा केन्द्रित रहने जनाइएको छ।

    मन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त शीघ्र तथा उदार मानवीय सहयोगप्रति हार्दिक आभार व्यक्त गरे।  संकटका समयमा प्राप्त यस्तो ऐक्यबद्धताले नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन सद्भाव तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रतिबिम्बित गरेको उनले बताए।  

    मन्त्री खनालले अन्तर्राष्ट्रिय तहमा अस्ट्रेलियाको नेतृत्वदायी भूमिकाको उपयोग गर्दै, विशेषगरी आगामी कोप–३१ को सन्दर्भमा, हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई विश्वसामु थप प्रभावकारी रूपमा उजागर गर्न आग्रह गरे। 

    उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण तथा विपद् तयारी र जलवायु-उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल-अस्ट्रेलिया सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा पनि जोड दिए। 

    त्यस क्रममा दुई मन्त्रीबीच शैक्षिक सहकार्य विस्तारका विषयमा पनि छलफल भएको खनालको सचिवालयले जनाएको छ।

    नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टीभीईटी) संस्थाहरू स्थापना गर्ने तथा अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउने सम्भावनाबारे विचार आदानप्रदान भएको छ।

    मन्त्री खनालले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज तथा अर्थतन्त्रमा नेपाली विद्यार्थी र नेपाली डायस्पोराले पुर्‍याउँदै आएको योगदानको उल्लेख गर्दै हालैका विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनका क्रममा वास्तविक तथा योग्य नेपाली विद्यार्थीका लागि अनुकूल र न्यायोचित व्यवस्था गर्न आग्रह गरे। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार