२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काँग्रेसका युवा नेताको आरोपः सभापति नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए (भिडियो)

काँग्रेसका युवा नेताको आरोपः सभापति नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए (भिडियो)

साझा पोष्ट
शनिबार, जेठ ३० २०८३
  • images
    images
    काँग्रेसका युवा नेताको आरोपः सभापति नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए (भिडियो)

    काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतर पक्षधर युवा नेताहरूले पार्टी नेतृत्वको कार्यशैली, नैतिकता र आन्तरिक लोकतन्त्रको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।


    images

    उनीहरूले ‘प्रोजेक्ट गभर्मेन्ट’ जस्ता अवधारणाले पार्टीलाई कमजोर बनाएको र नयाँ राजनीतिक शक्तिहरूको उदयमा सहयोग पुगेको आरोप लगाएका छन् । विशेष महाधिवेशन र भ्रातृ संस्थाका नियुक्तिहरूलाई ‘अपारदर्शी र स्वेच्छाचारी’ भन्दै युवा नेताहरूले ती निर्णयहरू तत्काल सच्याउन माग गरेका छन् ।

    पार्टीको ऐतिहासिक विरासत र अग्रजहरूको योगदानलाई उपेक्षा गरी बाह्य शक्तिको प्रभावमा नेतृत्व चलेको भन्दै उनीहरूले चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् । डिजिटल सदस्यता वितरणमा देखिएको अपारदर्शिता र नेतृत्वको ‘नाटकीय’ राजीनामा प्रकरणले राजनीतिक संस्कारको उपहास गरेको उनीहरूको सामूहिक ठहर छ ।

    नेपाली काँग्रेसका संस्थापन इतर पक्षधर युवा नेता धर्मराज शाहीले पार्टीको आन्तरिक कार्यशैली र नेतृत्वको नैतिकतामाथि प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गरे । नेता शाहीले सभापति गगनकुमार थापाको सचिवालय र उहाँले अघि सारेका अवधारणाप्रति टिप्पणी गरेका हुन् ।

    नेता शाहीले काँग्रेसभित्र लोकतान्त्रिक चरित्र र शुद्धीकरणलाई पाखा लगाएर ‘प्रोजेक्ट गभर्मेन्ट’का नाममा राजनीतिक नाटक मञ्चन गरिएको आरोप लगाए । उनले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को उदय हुनुमा काँग्रेसभित्रको यही ‘प्रोजेक्ट गभर्मेन्ट’ टोली जिम्मेवार रहेको दाबी गरे । शाहीकाअनुसार यदि उक्त टोलीले काँग्रेसभित्र अवसर नपाएको भए उनीहरूले नै रास्वपाको नेतृत्व गर्ने निश्चित प्रायः थियो ।

    नेतृत्वमाथि वैदेशिक हस्तक्षेपको आरोप लगाउँदै शाहीले खुफिया एजेन्सी र बाह्य शक्तिको डिजाइनमा काँग्रेसलाई कमजोर बनाउने खेल भइरहेको बताए । विशेष महाधिवेशनका नाममा पार्टीलाई निश्चित समूहको खल्तीमा हाल्ने प्रयत्न गरिएको तर जनतालाई यसरी भ्रममा सधैँ पार्न सम्भव नरहेको उनको भनाइ छ । उनले पार्टीको इतिहासमै वर्तमान अवस्था निकै दयनीय बनेको टिप्पणी समेत गरे ।

    निर्वाचनपछि पार्टीभित्र सभापति थापाले दिएको राजीनामा प्रकरणलाई शाहीले लज्जास्पद नाटकको संज्ञा दिए । सभापतिले राजीनामा दिएको अभिनय गर्ने र केन्द्रीय समितिबाट त्यसलाई नाटकीय रूपमा अस्वीकृत गराउने प्रक्रियाले राजनीतिक संस्कारको उपहास गरेको उनको तर्क छ । उनले नेतृत्वलाई राजनीतिक चेतना र नैतिकताको कसीमा उभिन आग्रह गर्दै पार्टीको साख जोगाउन गम्भीर हुन ध्यानाकर्षण गराए ।

    उनले भने ‘आदरणीय सभापति ज्यू,नेपाली काँग्रेसभित्रको लोकतान्त्रिक अभ्यास र पार्टी सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने समयमा ‘प्रोजेक्ट गभर्मेन्ट’ जस्ता अवधारणालाई अघि बढाइयो । त्यसले पार्टीभित्र भ्रम सिर्जना गर्नुका साथै अन्ततः नयाँ राजनीतिक शक्तिहरू उदाउने वातावरण पनि बनायो । आजको राजनीतिक अवस्थालाई हेर्दा त्यसका केही परिणामहरू स्पष्ट रूपमा देखिएका छन् । काँग्रेसलाई बाह्य प्रभाव वा सीमित समूहको स्वार्थअनुसार सञ्चालन गर्ने प्रयास सफल हुन सक्दैन, किनकि काँग्रेस केवल एउटा संगठन होइन, जनतासँग जोडिएको ऐतिहासिक राजनीतिक आन्दोलन हो । काँग्रेसलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः जनविश्वास कमजोर बनाउने प्रयास पनि हो । सबैभन्दा चिन्ताको विषय भनेको राजनीतिक नैतिकता र जबाफदेहिताको प्रश्न हो। नेतृत्वले आफ्नो निर्णय र परिणामको नैतिक जिम्मेवारी लिन सक्नुपर्छ । राजीनामा दिने र फेरि नाटकीय रूपमा फिर्ता लिने अभ्यासले नेतृत्वको विश्वसनीयता बढाउँदैन, बरु प्रश्नहरू जन्माउँछ । म स्वयं पनि यही काँग्रेसको राजनीतिक विद्यालयबाट आएको व्यक्ति हुँ । राजनीतिक जीवनमा पद र अवसरभन्दा नैतिकता, इमानदारी र सिद्धान्त ठुलो कुरा हुन् भन्ने मेरो विश्वास छ । राजनीतिक रूपमा हार स्विकार्न सकिन्छ, तर नैतिक रूपमा पतन स्विकार्न सकिँदैन । त्यसैले नेतृत्वले आत्मसमीक्षा गर्दै काँग्रेसको गौरव, लोकतान्त्रिक चरित्र र नैतिक आधारलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्छ ।’

    "

    अर्का युवा नेता भूपेन्द्रजंग शाहीले हालै सम्पन्न विशेष महाधिवेशनलाई ‘फर्जी’ संज्ञा दिँदै त्यसबाट गठित केन्द्रीय समिति तत्काल खारेज गर्न माग गरे ।

    भृकुटीमण्डपमा मेला हेर्न आएका व्यक्तिहरूलाई सहभागी गराएर महाधिवेशनको नाटक गरिएको आरोप लगाउँदै उनले पार्टी एकताका लागि उक्त समिति विघटन हुनुपर्नेमा जोड दिए । नेता शाहीले पार्टीका विभिन्न भातृ संस्थाहरूमा गरिएका ‘टीके’ नियुक्तिप्रति पनि आपत्ति जनाए ।

    नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघ जस्ता महत्त्वपूर्ण संस्थाहरूमा पदाधिकारीहरूको राय सल्लाह नगरी नेतृत्वले एकलौटी ढंगले आफ्ना निकटस्थहरूलाई नियुक्ति गरेको उनको दाबी छ ।

    उनले पार्टीलाई लोकतान्त्रिक पद्धतिअनुसार अगाडि बढाउन र नयाँ ढंगले सञ्चालन गर्न निर्वाचन समितिमार्फत खुला प्रतिस्पर्धा गराउनुपर्ने माग गरे । विधानसम्मत निर्वाचन गराई चुनिएर आउने नेतृत्वलाई मात्र स्वीकार गर्न सकिने स्पष्ट पार्दै उहाँले नेतृत्वको स्वेच्छाचारी कदमको विरुद्धमा आफूहरू उभिने चेतावनी दिए ।

    उनले भने ‘हालै विशेष महाधिवेशनको नाममा आयोजित कार्यक्रमबाट गठन गरिएको केन्द्रीय समितिप्रति हाम्रो गम्भीर असहमति छ । पार्टी एकता र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन सबैभन्दा पहिले उक्त केन्द्रीय समितिको पुनरावलोकन वा विघटन आवश्यक छ भन्ने हाम्रो धारणा छ । त्यसैगरी, भ्रातृ संस्थाहरूमा गरिएको मनोनयन प्रक्रियाप्रति पनि प्रश्न उठेका छन् । विगतमा टिके प्रथा र मनोनीत समितिको विरोध गर्ने नेतृत्वले आज त्यही अभ्यास दाहोर्याएको देखिन्छ ।

    त्यसैले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाहरूमा गरिएको मनोनयनको पुनर्विचार हुनुपर्छ भन्ने हाम्रो माग छ । यदि पार्टीलाई साँच्चिकै लोकतान्त्रिक ढङ्गले अघि बढाउने हो भने नेतृत्व चयन र संगठन निर्माण खुला तथा प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियाबाट हुनुपर्छ। पार्टीले स्वतन्त्र निर्वाचन समिति गठन गरी निष्पक्ष निर्वाचन गराओस् र योग्य तथा सक्षम नेतृत्व लोकतान्त्रिक प्रक्रियामार्फत चयन होस् भन्ने हाम्रो आग्रह छ ।’

    युवा नेता खगेन्द्र मल्लले पार्टी निर्माणमा योगदान पुर्याएका अग्रज नेताहरूको सम्मान हुनुपर्नेमा जोड दिँदै हालैका केही गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे । संस्थापन इतर पक्षका नेता मल्लले नेपाली काँग्रेसको वर्तमान अस्तित्व र पहिचान पुराना नेताहरूकै त्याग, बलिदान र पसिनाको जगमा उभिएको बताए । नेता मल्लले अहिलेका प्रभावशाली नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा लगायतका युवा पुस्ताले पाएको राजनीतिक प्लेटफर्म अग्रजहरूकै देन भएको उल्लेख गरे ।

    नेपाली काँग्रेस अनुभवी नेताहरूको मार्गदर्शन र युवाहरूको उत्साहको फ्युजनबाट नै एउटा गर्विलो इतिहास निर्माण गर्न सफल भएको मल्लको तर्क छ । पछिल्लो समय पार्टीमा देखिएको क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रियाप्रति उनले गम्भीर आपत्ति जनाए । डिजिटलाइजेसनका नाममा वडा कार्यसमिति र स्थानीय तहले नचिनेका व्यक्तिहरूलाई सदस्यता वितरण गरिएको भन्दै उनले यसलाई ‘अपारदर्शी’ संज्ञा दिए ।

    नेता मल्लले नेतृत्वलाई सचेत गराउँदै पार्टी केवल मञ्चमा दिइने भाषण र शब्दका भण्डारले मात्र नबनेको स्मरण गराए । तल्लो तहका संरचना र निष्ठावान् कार्यकर्ताको पहिचानलाई बेवास्ता गरिए पार्टीको भविष्य संकटमा पर्ने उनको दाबी छ ।

    उनले भने ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताबाट समय–समयमा कमी–कमजोरी भएका होलान् । ती विषयको मूल्याङ्कन इतिहासले गर्नेछ । तर आजको नेपाली काँग्रेस निर्माणमा योगदान पुर्याएका अग्रज नेताहरूको भूमिका, बलिदान र समर्पणलाई कहिल्यै पनि सामान्य रूपमा लिन मिल्दैन ।

    उहाँहरूको त्याग, सङ्घर्ष र पसिनाले निर्माण गरेको राजनीतिक आधार नभएको भए आज हामीमध्ये धेरै जना काँग्रेसको नेतृत्व तहसम्म पुग्ने अवसर पाउने थिएनौँ । त्यसैले नयाँ पुस्ताको नाममा पुराना, अनुभवी र योगदान गरेका नेताहरूलाई अपमान गर्ने वा विस्थापित गर्ने सोच स्वीकार्य हुन सक्दैन। नेपाली काँग्रेसको शक्ति भनेको अनुभवी नेताहरूको अनुभव र युवाहरूको जोसको समन्वय हो ।

    यही संयोजनले पार्टीलाई यहाँसम्म ल्याएको हो । त्यसैले पुस्तान्तरणको नाममा योगदान गरेका कार्यकर्तालाई पाखा लगाउने होइन, सम्मानपूर्वक समेट्ने संस्कार आवश्यक छ । क्रियाशील सदस्यता नवीकरण र डिजिटल प्रणालीको कार्यान्वयनका क्रममा पनि पार्टीको आधारभूत संरचनाको सम्मान हुनुपर्छ । वडा, पालिका, जिल्ला र प्रदेश तहका संगठनले नचिनेका व्यक्तिहरूलाई मात्र प्राथमिकता दिँदै वर्षौँदेखि योगदान गरेका कार्यकर्तालाई उपेक्षा गरियो भने त्यसले पार्टीलाई बलियो बनाउँदैन ।

    हामी सचेत गराउन चाहन्छौँ कि नेपाली काँग्रेस केवल भाषण, नाराबाजी वा नयाँ अनुहारले मात्र बनेको पार्टी होइन । यो हजारौँ नेता–कार्यकर्ताको त्याग, सङ्घर्ष र बलिदानले निर्माण भएको ऐतिहासिक संस्था हो। त्यसैले पार्टी रूपान्तरणको नाममा यसको मूल आधार र मूल्यलाई कमजोर पार्नु हुँदैन ।’

    युवा नेतृ सिर्जना मल्लले पार्टी नेतृत्वको कार्यशैलीप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिइन् । संस्थापन इतर पक्षधर नेतृ मल्लले पार्टीभित्र स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हाबी हुँदै गएको भन्दै यस्तो शैली नरोकिए युवा, विद्यार्थी र महिलाहरू चुप लागेर नबस्ने स्पष्ट पारिन् । नेतृ मल्लले नेतृत्वले आफ्नो एकहोरोपन र एकाधिकारवादी चरित्र पार्टीमा लादिरहेको आरोप लगाउँदै त्यसका विरुद्ध युवा जमात चरणबद्ध आन्दोलनका लागि तयार भइसकेको उल्लेख गरिन् ।

    मल्लले नेपाली काँग्रेसमाथि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू हाबी भइरहेको दाबी समेत गरिन् । उनले पार्टीका सभापति थापामाथि बाह्य शक्तिको ठुलो दबाब र थ्रेट रहेको उल्लेख गर्दै थापा यतिबेला कठिन परिस्थितिमा रहेको टिप्पणी गरिन् ।

    उनले भनिन् ‘यदि पार्टीभित्र एकपक्षीय निर्णय र तानाशाही प्रवृत्ति निरन्तर अघि बढाइयो भने त्यसको विरोध स्वाभाविक रूपमा बढ्नेछ । आजका युवा, विद्यार्थी र महिलाहरू अब चुप लागेर बस्ने अवस्थामा छैनन् । पार्टीभित्र लोकतन्त्र, पारदर्शिता र सहभागिताको पक्षमा आवाज उठाउन तथा आवश्यक परे चरणबद्ध आन्दोलन गर्न पनि नयाँ पुस्ता तयार छ । नेपाली काँग्रेस आज विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । यस्तो अवस्थामा नेतृत्वले विभाजन होइन, एकता र समन्वयको बाटो रोज्नुपर्छ । पार्टीलाई बलियो बनाउने जिम्मेवारी नेतृत्वकै काँधमा छ । म विश्वास गर्छु कि नेतृत्वले कुनै दबाब, प्रभाव वा स्वार्थभन्दा माथि उठेर पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र आम समर्थकलाई एकताबद्ध गर्नुपर्छ । नेपाली काँग्रेसको शक्ति यसको संगठन, इतिहास र कार्यकर्ताको विश्वासमा निहित छ । यदि नेतृत्वले सबैलाई आत्मसात् गर्दै लोकतान्त्रिक र एकताबद्ध ढङ्गले अघि बढ्न सक्यो भने पार्टीले आफ्नो गन्तव्य अवश्य प्राप्त गर्नेछ ।’

    सभापतिलाई लक्षित गर्दै उनले कुनैपनि शक्ति वा धम्कीको सामु नझुकी पार्टीलाई एकजुट बनाउन आग्रह गरिन् । काँग्रेसलाई एकताबद्ध बनाउनु र राष्ट्रको हितमा बोल्नु नेतृत्वको मुख्य धर्म भएको भन्दै उनले कार्यकर्ताको भावनालाई आत्मसात् गरेर अगाडि बढ्न सुझाव दिइन् । कसैको डर वा प्रभावमा नपरी सबै पक्षलाई मिलाएर अगाडि बढे मात्र पार्टी गन्तव्यमा पुग्न सक्ने उनको ठहर छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार