काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी व्यवस्थापनमा कमजोरी भएको सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बचन दिएका छन्।
उनले भने, ‘सुकुम्वासीको हकमा पनि हामी एकदम सिरियसली लाग्नेछौँ, लागि पनि रहेका छौँ। कति कुराहरू हाम्रो छुटपुट भएको छ, कमीकमजोरी भएको छ भने त्यसलाई पनि हामी सुधार्दै अगाडि बढ्नेछौँ।’
उनले महिलाहरूको विषय आउँदा पनि गृह मन्त्रालय जिम्मेवार भएर लागेको बताए। उनले हरेक महिलाको लागि गृह मन्त्रालयको ढोका खुल्ला रहेको समेत जानकारी गराए।
गृहमन्त्री गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सिमित नराखी मानवअधिकार र कानूनी राज्यको भावना अनुरूप परिष्कृत गरिने उनले बताए। उनले अबको गृह प्रशासनले कागजी आश्वासन र भाषणभन्दा पनि नागरिकले प्रत्यक्ष अनुभुति गर्नेगरी सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजा दिने दाबी गरे ।


