काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउने निर्देशन दिएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपा (एमाले)का सांसद राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? ’ भनेर प्रश्न गरेका थिए। त्यसपछि सभामुख अर्यालले सांसद राईलाई बोल्न रोकेका थिए।
यो अभिव्यक्तिपछि सदनमा विवाद उत्पन्न भएको थियो। १५ मिनेट स्थगित भएपछि बसेको बैठकमा सभामुखले सांसद राईको सबै अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिए ।
सभामुख अर्यालले भने, ‘यसअघिको बैठकमा माननीय राजेन्द्रकुमार राईले बोलेका सम्पूर्ण अभिलेखहरू संसदीय रिकर्डबाट हटाउन निर्देशन गर्दछु।’


