काठमाडौं । मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका छन् । नेपालीको गम्भीर अवस्थामा वीर अस्पतालमा उपचार भइरहेको छ । उनलाई आईसीयूमा राखिएको छ ।
उनको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेको अनुमान छ ।
प्रहरीका अनुसार, उनले राहदानी विभागको गेट अगाडि ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल राखेर गएका थिए। उनको मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएको थियो।
त्यसपछि आएका उनले मोटरसाइकल भएकै स्थानमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।


