२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

असारमा मात्रै ११ प्रतिशत खर्च,एकै दिन ३३ अर्ब १६ करोड रुपैयाँ निकासा

असारमा मात्रै ११ प्रतिशत खर्च,एकै दिन ३३ अर्ब १६ करोड रुपैयाँ निकासा

साझा पोष्ट
शुक्रबार, असार २६ २०८३
  • images
    images
    असारमा मात्रै ११ प्रतिशत खर्च,एकै दिन ३३ अर्ब १६ करोड रुपैयाँ निकासा

    काठमाडौं ।  नेपालमा आर्थिक वर्षको अन्तिम समय असारमा आएर विकासे पैसा खर्च गर्ने परम्परा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ । ३–३ जना अर्थमन्त्रीले बजेट खर्च गर्दा समेत चालु आर्थिक वर्ष २०८२–८३ जम्मा ७९.०४ प्रतिशत मात्र बजेट खर्च भएको छ ।


    images

    तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याएका थिए । जुन बजेट पूर्वअर्थ सचिव समेत रहेका र विज्ञ अर्थमन्त्री रामेश्वर खनालले र त्यसपछि अर्थमन्त्री बनेका अर्थ विज्ञ डा. स्वर्णिम वाग्लेले समेत बजेट खर्च गरे । तर पनि बजेट खर्च भने १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ मात्र छ । 


    सरकारले अन्तिम समयमा आएर खर्च हुने परम्परा कम गर्न आर्थिक वर्ष सकिनुको एक हप्ता अगाडि बजेट खर्च गर्न नपाइने व्यवस्था गरेको छ । लेखा नियन्त्रकको कार्यालयले बिहीवारबाटै सर्कुलर गरेर बजेट खर्च गर्न रोक लगाइसकेको छ । आजबाट सरकारी खाता एक हप्ताका लागि बन्द हुन्छ । 


    चालु आर्थिक वर्षमा भने पुँजीगततर्फ भने मात्र ४४.५१ प्रतिशत मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा सरकारले भने १ खर्ब ८१ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ मात्र खर्च गरेको छ । 


    यता चालुतर्फ भने केही बढी खर्च गरेको देखिएको छ । चालुतर्फ आर्थिक वर्षमा ८८.३ प्रतिशत बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा १० खर्ब ४२ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । 


    वित्तीय व्यवस्थापन भने ९०.८ प्रतिशत रहेको छ । वित्तीय व्यवस्थापनको लक्ष ३ खर्ब ७५ खर्ब २४ करोड २० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्षको अन्तिमसम्ममा ३ खर्ब ४० अर्ब ७२ करोड ३९ लाख रुपैयाँ  छ । 

    असारमा मात्रै ११ प्रतिशत खर्च 

    बालेन्द्र सकारको अर्थ विज्ञ अर्थमन्त्रीले समेत अन्तिम समय अर्थात असारमा मात्र पूरै ११.१३ प्रतिशत बजेट खर्च गरेका छन् । जेठ मसान्तसम्ममा पूरै बजेटको ६९.५६ प्रतिशत बजेट खर्च भएकोमा आर्थिक वर्षको अन्तिम खर्च गर्ने दिनसम्म ७९.०४ प्रतिशत बजेट खर्च भएको छ । 
    यो एक महिनाको अवधिमा मात्र २ खर्ब १८ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । अन्तिम समयमा खर्च हुने पुँजीगततर्फको बजेट हेर्ने हो भने त झनै भयावह देखिन्छ । एक महिनामा मात्र करिव २१ प्रतिशत पुँजीगत खर्च भएको छ । जेठ मसान्तसम्ममा पुँजीगत खर्च १  खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख (२३.५३ प्रतिशत) रहेकोमा एक महिनामा मात्र पुँजीगत ४८ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ (२०.९८ प्रतिशत) खर्च भएको छ । 
    चालुतर्फ भने केही कम खर्च भएको छ । चालुतर्फ एक महिनामा ११.३९ प्रतिशत बजेट खर्च भएको नियन्त्रकको कार्यालयले जनाएको छ । जेठ मसान्तसम्ममा चालुतर्फ ९ खर्ब ८ अर्ब २६ करोड ८१ लाख रुपैयाँ (७६.९१ प्रतिशत) खर्च भएकोमा असारमा मात्र १ खर्ब ३४ अर्ब ५८ करोड ८ लाख रुपैयाँ खर्च भएको छ । 
    एकै दिन ३३ अर्ब १६ करोड बजेट खर्च 
    सरकारी खाता चल्ने अन्तिम दिन मात्र बजेटको ठूलो खर्च भएको छ । बिहीवार मात्र एकै दिन सरकारी खाताबाट ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । जसमा पुँजीगत १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ छ भने चालुतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ भने एकै दिनमा २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ ।–न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार