२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने

सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने

साझा पोष्ट
बुधबार, साउन १३ २०८३
  • images
    images
    सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने

    काठमाडौं,साउन १३ ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा विकसित असहज परिस्थितिलाई सामान्यीकरण गर्दै सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत रहेको बताएका छन् ।


    images

    बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान घटनाक्रमबारे साझा धारणा बनाउन र सरकारको ध्यानाकर्षण गराउन शीर्ष नेताहरूबीच गम्भीर छलफल भएको जानकारी दिए ।

    सरकारको भूमिका र जिम्मेवारीबारे उठेका प्रश्नहरूको जवाफ दिँदै लामिछानेले सर्वदलीय बैठक सरकारको बचाउका लागि नभई राजनीतिक दलहरूले आफ्नो धारणा स्पष्ट पार्ने र आवश्यक सुझाव दिने उद्देश्यले आयोजना गरिएको बताए ।

    सुनसरीलगायतका जिल्लामा हालै भएका प्रदर्शन तथा दुई युवकको ज्यान गएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेकोमा जोड दिए ।

    ‘नागरिकको ज्यान जानु अत्यन्त गम्भीर विषय हो । यसमा सुरक्षा निकाय जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘घटनालाई लिएर विभिन्न अफवाह र भ्रम फैलिरहेका छन् । त्यसैले अनुसन्धानको निष्कर्ष नआउन्जेल हतारमा टिप्पणी गर्नु उपयुक्त हुँदैन ।’

    उनले कुनै पनि परिस्थितिमा साम्प्रदायिक सद्भाव खलबलिने, एक समुदायले अर्को समुदायप्रति घृणा वा द्वेष फैलाउने तथा आक्रमण गर्ने गतिविधि देशका लागि घातक हुने बताए । संवेदनशील विषयमा सबै राजनीतिक दल एउटै धारमा उभिनुपर्ने आवश्यकता महसुस गर्दै चाँडै नै सबै दलको तर्फबाट संयुक्त अपिल सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

    विगतका आन्दोलन र वर्तमान अवस्थाबीच तुलना गर्दै लामिछानेले अहिलेको प्रमुख आवश्यकता शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम गर्नु रहेको उल्लेख गरे । आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा जिम्मेवार ढंगले अघि बढ्न उनले सबै पक्षलाई आग्रह गरे ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार