काठमाडौं,साउन १६ । पाकिस्तानकाे ब्रड पिक हिमपहिराेमा हराइरहेकामध्ये अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटिएको छ।
शुक्रबार अमेरिकी नागरिक म्यालोरी गाइसको शव भेटिएपछि बेपत्तामध्ये तीन जनाकाे पहिचान खुलेकाे हाे। यसअघि शुक्रबारै ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङकाे शव पहिचान भइसकेको छ।
काराकाेरम हिमशृंखला अन्तर्गत पर्ने ब्रड पिक हिमाल आराेहणका क्रममा हिमपहिराे खस्दा विश्वप्रसिद्ध नेपाली आराेही निर्मल पुर्जासहित १० जना सम्पर्कविहीन भएका थिए।
स्थानीय क्षेत्र गिलगिट-बाल्टिस्तानको सूचना विभागका अनुसार पहिचानसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्न तीन जनाकाे शव हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।
१० सदस्यीय पर्वतारोहण टोलीका सदस्यमध्ये अझै ७ जनाकाे अवस्था स्पष्ट हुन सकेकाे छैन।
पाकिस्तान रकाे अल्पाइन क्लबका अनुसार हवाई ड्रोनमार्फत अन्य केही व्यक्तिहरू ब्रड पिक क्षेत्रमा देखिएकाे भए पनि उनीहरूकाे अवस्था स्पष्ट हुन सकेकाे छैन।
शनिबार उद्धार अभियान पुनः सुरु भएपछि मात्र उनीहरकाे अवस्था स्पष्ट हुनसक्ने बताएकाे छ।


