काठमाडौं,साउन २० । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि आजदेखि औपचारिक रूपमा खुलेको छ ।
समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयमा लगाएको ताला आज खोलिएसँगै पुस्तकालय सञ्चालनको बाटो प्रशस्त भएको हो ।
पुस्तकालयको करिव ३ करोड रुपैयाँ भाडा वक्यौता रहेको जनाउँदै परिषद्ले यसअघि तालाबन्दी गरेको थियो ।यद्यपि, वक्यौता बाँकी नै रहेको अवस्थामा पनि पुस्तकालयको संवेदनशीलतालाई मध्यनजर गर्दै आज ताला खोलिएको हो ।
पुस्तकालय प्रशासनकाअनुसार हाल आन्तरिक सरसफाई तथा व्यवस्थापकीय कार्यहरू भइरहेका छन् । लामो समय बन्द रहेका कारण पुस्तकहरूको व्यवस्थापन र सरसफाइका लागि केही दिन लाग्ने भएकाले आगामी २५ गतेदेखि मात्र पाठकहरूका लागि पुस्तकालय खुला गरिने योजना बनाइएको छ ।
व्यवस्थापकीय कार्य सम्पन्न भएपछि आगामी २५ गतेदेखि पाठकहरूले नियमित रूपमा सेवा लिन सक्नेछन् ।


