काठमाडौं,साउन २१ । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरण निकै गम्भिर विषय भन्दै संसदमा उत्तर दिन अस्वीकार गरेका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रममासांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् भनेर सोधेका थिए, तर त्यसको उत्तरमा गृहमन्त्री गुरुङले गम्भीर विषय भन्दै उत्तर नदिने बताए । ‘यो विषय एकदमै सेन्सेटिभ छ,’ यस विषयमा गृहमन्त्री गुरुङले सांसदलाई नै उल्टै प्रश्न गरे। ‘हजुर सत्तामा हुँदा किन नगर्नु भएको हो ?’
यस विषयलाई संसद्मा धेरै कोट्याउन नहुने उनको तर्क थियो। ‘आमाको घाउलाई कोट्याइरहने हो कि संसदमार्फत कि न्याय दिने हो ?,’ उनले भने।
यसमा अनुसन्धान भइरहेको गृहमन्त्री गुरुङले बताए । ‘धेरै कुरा बोल्न सक्दिँन। बोल्नु हुँदैन। सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँं,’ गुरुङले भने।
गृहमन्त्री गुरुङले अब संसद्मा निर्मला हत्या प्रकरणमा प्रश्न नगर्न अनुरोध गरे। ‘यो प्रश्न नउठाइ दिन हुन अनुरोध गर्दछु। केही कुरा छ भने व्यक्तिगत रुपमा सोध्नु होला,’ उनले थपे, ‘यो विषय सदनमा बारम्बार कोट्याउन हुँदैन।’
त्यसपछि अध्यक्ष दाहालले सांसद विश्वकर्मालाई पुरक प्रश्न सोध्न समय दिए। त्यसपछि सांसद विश्वकर्माले प्रश्न सोध्ने आफ्नो विधायिकी अधिकार भन्दै फेरि सोधे, ‘निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन ? ’
त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री गुरुङलाई उत्तर दिन समय दिए। यसपटक भने गृहमन्त्री गुरुङले सिधा भने, ‘म यसको उत्तर दिन चाहदिँन।’


