काठमाडौं,साउन २१ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले देशलाई उत्तर कोरिया बनाउन खोजेको भन्दै कडा आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीवार ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपरको सैद्धान्तिक छलफलमा भाग लिँदै सिंहले सरकारको नियतमा खोट भएको टिप्पणी गरे।
उनले भने, राष्ट्रियताको भावना त सरकारमा छैन।’ नेपाललाई मैले त एकचोटी भनेको थिएँ कि पाकिस्तान बनाउन खोज्दै थियो । मलाई त्यहाँ मेरो आफ्नै मूल्याङ्कन गलत भएछ । यसलाई नर्थ कोरिया बनाउन खोज्दै छ ।’
सरकारले संविधान र समावेशीताको धज्जी उडाएको उनले टिप्पणी गरे । उनले युवाहरूलाई विदेश जान रोक्न सरकारले नसकेको बताए।
उनले भने ‘जान्नेलाई छाने भन्छ नि, आफ्नो मान्छे नियुक्ति गरेको छ। यो सरकार आएदेखि समावेशिता र संविधानको धज्जी उडेका छन् । यो मेरो कुनै उत्तेजना होइन । मैले जुन भूगोलको प्रतिनिधित्व गर्छु, त्यहीको नगरे त कसले गर्ने ?
उनले आफ्नो ५६ वर्षको अनुभव सुनाउँदै मधेस वा थारुहट आन्दोलनमा सधैँ गोली चलेको बताए। ‘मधेसी, जनजाति, दलितलाई बुट बजार्न खोजेको छ। आजसम्म मरेको इतिहास हेर्नुस्, जहिले पनि गरिब मरेको छ। कुनै पनि राणाको, शाहको, क्षेत्रीको, बाहुनको छोरा मरेको छैन। उनले भने ।


