काठमाडौं,साउन ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका छन् ।
झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटनमा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजक भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने ।
एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको पनि उनले बताए । नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन नभनिने तर्क समेत उनले गरे । ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ ओलीले भने, 'अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन । कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन,’ ओलीले भने, ‘कुनै कमिटीको होला । त्यस्तो व्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौं, पुनर्गठन हुँदैन ।’
नेतृत्व फेर्ने कुरा मात्र पुनर्गठन होइन भन्दै ओलीले नीति, गन्तव्य र कार्यक्रम बदल्ने कुरा चाहिँ पुनर्गठन हुने बताए । ओलीले पार्टीबाट धेरै लाभ लिएपछि छोड्ने गरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । ‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन्,’ ओलीले भने, ‘केही नपाएकाले यसपटक पनि भोट हाले । केही पाएकाले यसपटक पनि भोट हालेनन् ।’
पार्टीको खाएर गुनासो गर्नेहरूलाई ओलीले ‘किर्ना’को संज्ञासमेत दिए । ‘एमालेलाई पनि भैंसी बनाउन खोजेका छन् साथीहरूले,’ ओलीले भने ।
ओलीले पार्टी सदस्यहरुको पनि चर्को आलोचन गरे । ‘हाम्रो पार्टीमा सदस्य भन्दा कम भोट आयो । सुन्दा लाज हुन्छ,’ ओलीले भने, ‘कस्तो सदस्य ? सदस्यको नवीकरण गर्नुस्, गैर सदस्यको होइन । नयाँ सदस्य थप्नुस् ।’


