काठमाडौं,साउन २८ । पत्रकार किशोर श्रेष्ठलाई विना शर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ ।
पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारले प्रदर्शन गर्दै धर्ना दिएका हुन् । धर्नामा सहभागीले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।
महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ।
पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासंघको भनाइ छ। पत्रकारलाई निर्भिक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ।


