काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बचाउ गर्दै सांसद खगेन्द्र सुनारले गरेको टिप्पणीको कडा प्रतिवाद गरेका छन् ।
शुक्रबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित भएर सार्वजनिक लेखा समितिको बैठकमा भएको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन ।
बुधवार लेखा समितिको बैठकमा अनुपस्थित गृहमन्त्रीले आज मौका मिलेको भन्दै लेखा समितिमा जे भयो त्यो ठिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘अस्ति म त्यो समितिमा नभएको हिसाबले आज यो समितिमा एउटा सानो भन्ने मौका पाएको छु। जसरी हाम्रो मेरो गैरउपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो सहसचिवज्यूहरू, प्रहरी प्रमुखलाई जसरी जुन व्यवहार एउटा समितिमा प्रस्तुत गर्नुभयो, त्यसमा चाहिँ गृहमन्त्रीको ध्यानाकर्षण भएको छ, दिस इज नट राइट, दिस इज नट गुड।’ उजुरीकै भरमा दोषी करार गर्न नमिल्ने बताउँदै उनले भने, ‘कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्यो । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन ।इट इज नट गुड। अनि हाम्रो गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ यसमा चाहिँ। वि आर नट ह्याप्पी अबाउट इट।’
उनले गृह प्रशासनअन्तर्गत रहेकाहरूले सरकारको स्पिरिट अनुसार काम गरिरहेको बताउँदै प्रशंसा गरे ।
‘मन्त्रालयका साथीहरू पनि यहीँ भएको हिसाबले चाहिँ मैले कुरा गर्न चाहेँ। हाम्रा कर्मचारीहरूले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। जसरी आईजी साबहरू काम गर्नुभएको छ, म प्रत्यक्षदर्शी छु। उहाँहरू हाम्रो स्पिरिटमा स्पेशल्ली, यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नुभएको छ, यसमा दुई मत छैन’, मन्त्री गुरुङले भनेका छ, ‘आरोप लगाउन जोसुकैले नि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फत त्यस्तो गर्नु राम्रो होइन ।’


