२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

आईजीपी कार्कीलाई काखी नच्याप्न खगेन्द्र सुनारको गृहमन्त्रीलाई चेतावनी

आईजीपी कार्कीलाई काखी नच्याप्न खगेन्द्र सुनारको गृहमन्त्रीलाई चेतावनी

साझा पोष्ट
शुक्रबार, साउन २९ २०८३
  • images
    images
    आईजीपी कार्कीलाई काखी नच्याप्न खगेन्द्र सुनारको गृहमन्त्रीलाई चेतावनी

    काठमाडौं,साउन २९ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृहमन्त्री सुदन गुरुङलाई दोषीलाई काखी च्यापेर नहिँड्न चेतावनी दिएका छन् ।
     प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भ्रष्टाचारमा दोषी भन्दै सुनारले गृहमन्त्रीलाई चेतावनी दिएका हुन् ।  गृहमन्त्री प्रमाणित नहुँदै गम्भीर आरोप लगाउन नहुने बताएपछि सांसद सुनारले त्यसको प्रतिवाद गरेका हुन्  
    आजै गृहमन्त्री गुरुङले कानून समितिमा आईजीपी कार्कीलाई सँगै राखेर कसैले आरोप लगाउँदैमा भ्रष्टाचारी भन्न नमिल्ने बताएका थिए । अहिलेको प्रहरी नेतृत्वले सरकारको चाहनाअनुसार काम गरिरहेको भन्दै उनले कार्कीको प्रशंसासमेत गरेका थिए । गृहमन्त्रीले सांसदहरूलाई प्रमाणित नहुँदै आरोप नलगाउन आग्रह गरेका थिए ।


    images

    गृहमन्त्रीसहित आईजीपी कार्कीको पक्षमा बोल्नेहरूप्रति सामाजिक सञ्जालमार्फत जवाफ दिँदै सांसद सुनारले आफूले समितिमा राखेको धारणामा कुनै कमजोरी नरहेको दाबी पेश गरेका छन्  । उजुरी परेपछि अनुसन्धान र कारबाहीको विकल्प नरहेको उनको तर्क छ ।

    सुनारले लेखेका छन्, ‘समितिले स्पष्ट भनेको छ १५ दिनभित्र सबै कागज पेस गर्न । आवश्यक छानबिन हुन बाँकी छ । कारबाही जारी छ । कोही कसैले पनि आरोपितलाई काखी च्यापेर, केही नभएजसरी अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्र न्यायाधीश बनेर फैसला गर्दै हिँड्ने हैन ।’

    उनले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई बर्दी लगाएर समिति–समितिमा गएर प्रवचन दिने छुट नरहेकोसमेत बताएका छन् । ‘भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन । भाषण नै गर्ने रहर भए बर्दी खोलेर चुनाव लड्न आउने,’ सुनारले लेखेका छन् ।

    सांसद सुनारले आईजीपी कार्कीमाथि पुनः आरोप लगाउँदै आफ्ना छोराछोरी युरोप–अमेरिकामा राखेर यहाँ अरूका छोराछोरीलाई दुःख दिएको आरोपसमेत लगाएका छन् ।

    ‘आफ्नो छोराछोरी युरोप–अमेरिका राखेर गरिबका छोराछोरीलाई गेटमा बुट बजार्न लगाउने, आफू भित्र बुट खाएर बस्ने, तल्लो दर्जाका सिपाही, हवल्दार भ्वाङ परेको बुट र खुइलिएको चुस्ता लगाएर, उसिनेको भात र कुँडोजस्तो दालको भरमा १८–२० घण्टा सडकमा डिउटी गरेको छ । छोराछोरी पढाउन सकेको छैन, बैंकको किस्ता तिर्न सकेको छैन । यस्ता गरिबको नाममा आएको बजेट हिनामिना गरेर, अझ केही नभएजसरी प्रवचन दिँदै हिँड्ने ?’, उनले प्रश्न गरेका छन् ।

    उनले आफू सांसद मात्र नभई भ्रष्टाचारको विषयमा आवश्यक परे जीवन दाउमा राख्नसमेत तयार रहेको बताएका छन् । ‘सांसद त के कुरा, जिन्दगी दाउमा राख्न तयार छु, हिसाब हुन्छ । जुत्ता लगाउने हो, खाने हैन’, सुनारले भनेका छन् ।

    सुनारले आफूहरूले कसैमाथि कपोकल्पित आरोप नलगाएको दाबी गर्दै प्रहरी र सशस्त्र प्रहरीविरुद्ध समितिमा परेको उजुरी छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।

    ‘हामीले कसैमाथि कपोकल्पित आरोप लगाएको हैन, प्रहरी र सशस्त्र प्रहरीविरुद्ध समितिमा परेको उजुरी छानबिन गरौँ भनेको हो । समाचार, समितिमा सांसदको शैली भएन । टिप्पणी भेलिको शैलीमा अनियमितताको छानबिन हुँदैन’, उनले लेखेका छन् ।

    उनले बदमासी भएको दाबीसहित समितिमा उजुरी आएपछि सार्वभौम सांसदको हैसियतले आवश्यक प्रश्न गरिएको र आगामी दिनमा पनि गरिने बताएका छन् ।

    ‘भ्रष्टाचारको औषधि झोलमा खाने कि चक्कीमा भनेर सोधेर खुवाउन सकिँदैन । बदमासी भएको दाबीसहित समितिमा उजुरी आयो र एक सार्वभौम सांसदको हैसियतले आवश्यक प्रश्न गरियो, गरिन्छ । हामी स्वतन्त्र, निष्पक्ष, व्यावसायिक प्रहरीको पक्षमा छौँ’, सुनारले भनेका छन् ।

    सुनारले आफ्नो धारणा सार्वजनिक गर्नेसँगै सार्वजनिक लेखा समितिमा परेको भ्रष्टाचारसम्बन्धी उजुरीसमेत सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार