ललितपुर ,असोज १० । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित झटाकाली मन्दिरको सार्वजनिक जग्गा अतिक्रमण गरी शौचालय निर्माण गर्न खोजिएपछि महानगर प्रहरीले निर्माण कार्य रोकेको छ।
महानगरपालिकाको स्वीकृति तथा वडा कार्यालयको अनुमति नलिई सार्वजनिक स्थानमा शौचालय निर्माण गर्न लागिएको सूचना पाएपछि महानगर प्रहरी टोलीले शनिबार निर्माणस्थलमा पुगेर सामग्री नियन्त्रणमा लिएको हो।
महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार बिदाको दिन पारेर शौचालय बनाउन खाल्डो खनिसकिएको अवस्थामा भेटिएपछि काम रोकाइएको उनले बताए।
‘स्वीकृति नलिई सार्वजनिक ठाउँमा निर्माण गर्न पाइँदैन। निर्माण सामग्री नियन्त्रणमा लिएर काम बन्द गराएका छौँ,’ उनले भने, ‘निर्माणका लागि खनिएको खाल्डो पनि जेसीबी लगाएर पुर्ने तयारी गरेका छौँ।’
स्थानीय सरोकारवालाको सहमति र सम्बन्धित निकायको स्वीकृतिबिनै निर्माण अघि बढाइएको भन्दै स्थानीयले समेत आपत्ति जनाएका छन्।
यसअघि पनि सोही मन्दिर परिसरमा पुजारी घर बनाउँदा सडक अतिक्रमण गरिएको विषय उठेको थियो। हाल शौचालय निर्माणका लागि समेत सडक तथा सार्वजनिक क्षेत्र प्रयोग गर्न खोजिएको आरोप स्थानीयको छ।
यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको देखिन्छ। आयोगलाई पठाइएको निवेदनमा ललितपुर महानगरपालिका–२५ स्थित झटाकाली मन्दिरको सार्वजनिक जग्गा तथा सडक क्षेत्र अतिक्रमण गरी पुजारी घर र अहिले शौचालय निर्माण गर्न खोजिएको उल्लेख छ।



