काठमाडौं, असोज ११ । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगाएको छ ।
आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको नेपाल प्रहरीले जानकारी दिएको छ । उक्त बस्तीमा करिब ८० घर रहेकोमा २५ घर बगेका छन् । बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।
मानवीय क्षति भएको भने छैन । बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन । घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ ।



